Logo
८ पुस २०८१, सोमबार

सर्भर डाउन हुँदा दुई घन्टा उडान प्रभावित

अक्षरपाटी
२०७९ माघ १४ , शनिबार ०५:०१ मा प्रकाशित

काठमाडौं १४ माघ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान दुई घण्टा प्रभावित भएको छ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ।

दुई घन्टा प्रभावित भए पनि अहिले भने जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उनले बताए।

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो। केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज अवतरण गरेको छ।

विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए।

योसँगै नेपाल सरकारका अधिकांश वेबसाइट अवरुद्ध भएका हुन्। राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयदेखि सातै प्रदेशका मुख्यमन्त्री कार्यालयका वेबसाइटहरु पनि अवरुद्ध छन्।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले यसबारे अध्ययन गरिरहेको छ तर यस्को कारण पत्ता लागिसकेको छैन। दिउँसो एक बजेदेखि देखिएको समस्या अझै समाधान भएको छैन।