काठमाडौं २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न निर्देशन दिएका छन्।
उनले राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका हुन।
आज प्रधामन्त्री कार्यालय सिंहदरबारमा राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धि छलफलमा बोल्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको देखिएको बताए।
उनले गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको बताउँदै भने, ‘तर, यसको अर्थ नेपाली अर्थतन्त्र संकटमुक्त भइसक्यो भन्ने होइन। राजस्व संकलनमा अहिले पनि केही समस्याहरू छन्। राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन जरूरी छ।’
उनले नीतिगत सुधारको प्रयत्नबाट यी कामहरू अगाडि बढाउन सकिने र चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनलाई सुदृढ र समन्वयात्मक बनाउनुपर्ने बताए।
प्रधानमन्त्री दाहालले भने, ‘चुहावट भन्सारमा मात्र छैन, राजस्व संकलनका अन्य क्षेत्रमा पनि छ।’
उनले राजस्व प्रशासन र नियन्त्रणमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबल तथा असल आचरणका साथ काम गर्नुपर्ने बताए।
प्रविधिको प्रयोग ठीक ढंगले नगेर चोरी नियन्त्रण र सुरक्षा प्रबन्ध पनि प्रभावकारी हुन नसक्ने बताए।
‘राजस्व छली गर्ने ठूलाई नछुने तर सानालाई मात्र छुन्छन् भन्ने आम गुनासो छ। तसर्थ, अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने ठूलालाई नियमन र नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्नुस्’, उनले भने, ‘ठूला बदमासीहरू नियन्त्रण गरेपछि साना बदमासीहरू क्रमशः न्यूनिकरण हुन्छन्। तपाईहरूले देश र अर्थतन्त्रको हितमा कदम चाल्नुस्। राज्य निरिह छैन, गलत काम गर्ने कसैलाई पनि छोड्दैन भन्ने उदाहरण दिनुस।’
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्व संकलन र चुहावटका क्षेत्रमा हुनसक्ने सम्भावित मिलेमतोलाई चेन ब्रेक गर्ने गरी कार्यविभाजन गर्न निर्देशन दिइसकेको जानकारी दिए।
सो क्रममा मितव्ययिता र खर्च कटौतीको विषयलाई गम्भीरतापूर्वक लिएर सोहीअनुरूप कार्ययोजना र कार्यान्वयनमा लैजान आफूले मेहेनत गरिरहेको मन्त्री पौडेलले बताए।