काठमाण्डौ । गृह मन्त्रालयले हिजो सोमवार काठमाण्डौको गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ । यातायात व्यवसायी र मजदुरहरूले गरेको प्रदर्शनका क्रममा हिजो ल्होत्से मलमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुट्नेलाई पक्राउ गरी कारबाही गर्न गृह सचिव विनोद सिंहले सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।
नेपाल मोबाइल व्यवसायी महासङ्घले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ । आज मङ्गलवार महासङ्घले नयाँ बसपार्कमा पत्रकार सम्मेलन गर्दै सोमवार गोङ्गबु नयाँ बसपार्कको ल्होत्से मलमा यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने सङ्गठन र सरकारले दिनुपर्ने माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महासङ्घका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरूका माग सम्बोधन नगरे देशव्यापीरूपमा आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले १५ घण्टा हुँदासम्म सरकार घटनाप्रति मौन बस्नु व्यवसायीहरूको पक्षमा सरकार नदेखिएको आरोप लगाउनुभयो । उहाँले सरकारले पसल लुटपाट पर्नेहरूको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो ।
अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताउनुभयो । उहाँले सोमवारको घटनाबाट देशको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने भन्दै घटनाको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने बताउनुभयो ।
त्यस्तै महासङ्घका महासचिव रमेश घिमिरेले आफ्नो व्यवसाय गरेर जीविकोपार्जन गर्ने सुरक्षित वातावरण नभएको बताउनुभयो । उहाँले यातायात मजदुरहरूको आन्दोलनको नाममा पसलहरू लुटपाट गर्ने काम भएको भन्दै घटनाको जिम्मा सरकार वा आन्दोलनकारी दुवैले लिनुपर्ने बताउनुभयो ।
हिजोको अवस्थापछि आज बिहान सरकार र यातायात मजदुरका सङ्गठनबीच वार्ता भएको थियो । वार्ता सकारात्मक भएपछि बन्द फिर्ता लिए पनि आज काठमाण्डौमा सार्वजनिक गाडी चलेका छैनन् । निजी गाडी र ट्याक्सी भने चलेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र मजदुरहरूले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेपछि बन्दको कार्यक्रम स्थगित गरेका थिए ।