Logo
७ पुस २०८१, आईतबार

पहिलो पटक गाउँमा बस पुग्दा चालक र सहचालकलाई फूलमालाले स्वागत

अक्षरपाटी
२०७९ फागुन ३ , बुधबार ११:०२ मा प्रकाशित

डोटी। डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पहिलो पटक बस पुगेको छ । गाउँपालिकाको वडा नम्बर १ सिमचौरको छिडिखानमा से १ ख २१४९ नम्बरको सुदूरपश्चिम यातायातको बस पुगेको हो ।

वडा अध्यक्ष खेम घर्तिमगरका अनुसार कैलालीको धनगढीबाट छुटेको बस गएराति छिडिखान पुगेको हो । पहिलो पटक बस पुगेपछि दंग परेका स्थानियबासिन्दाले चालक र सहचालकलाई फूलमाला लगाएर स्वागत गरेका छन् । सहजपुर, बोगटान, दिपायल सडक खण्ड अन्तर्गत बागछेडादेखि छिडिखानसम्मको सडक सरसफाइ तथा मोड सुधार गरिएपछि परीक्षणका लागि पहिलो पटक सार्वजनिक बस छिडिखान पुर्‍याइएको हो ।

बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको संयुक्त सहकार्यमा केही दिन पहिले सडक सरसफाइ र मोड चौडा बनाउने कार्य गरिएको थियो । ‘निमियत बस सञ्चालनका लागि पहल हुँदैछ, हामी छिट्टै नै गाउँपालिका केन्द्र चवराचौतारासम्म बस पुर्‍याउने योजनामा छौँ ।’  गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनुभयो ।