काठमाडौं । सांसद् चित्रबहादुर केसीले शक्ति राष्ट्रहरु प्रत्यक्ष रुपमै राष्ट्रपति कसलाई बनाउन भनेर सक्रिय भएर लागिरहेको दाबी गरेका छन्। बुधबार संसद बैठकमा बोल्दै केसीले शक्ति राष्ट्रहरु राष्ट्रपति चुनावमा आफू अनुकुल व्यक्ति बनाउन लागिरहेको बताएका हुन्।
केसीले भने,‘शक्ति राष्ट्रहरुले प्रत्यक्ष रुपमै राष्ट्रपति चुनावमा सक्रिय भएको पाइयो। यसले नेपालको राष्ट्रिय स्वाभिमानमाथि दाग लाग्छ।’
केसीले नेपालका शीर्ष नेताहरु भारतमा जाँदा भारतीय शासकहरुलाई भेट्नै नसक्ने तर भारतका कर्मचारीले नेपालका राष्ट्र प्रमुखसँग सजिलै भेट्ने गरेको बताए। केसीले भने, ‘भारतका परराष्ट्र सचिवले नेपालका शीर्ष नेताहरुसँग भेटघाटको अभियान चलाउनुभयो। राष्ट्र सानो ठूलो हुनसक्छ। तर, सार्वभौम सत्ता, भौगोलिक अखण्डताका हिसाबले सानो ठूलो हुँदैन। नेपालबाट पूर्व प्रधानमन्त्री जाँदा भारतीय शासकहरुलाई भेट्नै सक्दैनन्।’