Logo
१८ कात्तिक २०८२, मंगलबार

सांसद भण्डारीको अवस्था जटिल, देश बाहिर सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस

अक्षरपाटी
२०७९ फागुन ४ , बिहीबार १०:०२ मा प्रकाशित

काठमाडौं ४, फागुन, । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।

गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ ।

आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको ताम्राकार बताउँछिन् । उनले भनिन्, ‘ यो रिस्क फ्याक्टर हो ।’

अस्पतालका मेडिकल डाइरेक्टर ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै हालको स्रोत साधनले नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको जानकारी दिएका छन् ।

ट्रेन्डिङ ( साप्ताहिक )