Logo
२७ पुस २०८१, शनिबार

प्रजातन्त्र दिवस : स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारको जरिवानादेखि जेल सजाय माफी

अक्षरपाटी
२०७९ फागुन ६ , शनिबार ०७:०२ मा प्रकाशित

काठमाडौं ६ फागुन। प्रजातन्त्र दिवसका उपलक्षमा विभिन्न जरिवाना र कैद सजाय माफी गरिएको छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम माफी गर्ने निर्णय गरेकी हुन्।

उनले फागुन ४ गते बसेको मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधानको धारा २७६ बमोजिम सो जरिवानाको रकम माफी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीबाट मन्त्रिपरिषद्को सिफारिसका आधारमा तीन सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन्।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गतेदेखि लागु हुने गरी राष्ट्रपति भण्डारीले पुष्कर गौतमसमेतका १४ जना व्यक्तिलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय समेत प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।