Logo
७ पुस २०८१, आईतबार

मुस्लिम समुदायमा परिवार नियोजनको अभियान थाल्ने पहिलो महिला खैरुनको बयान

अक्षरपाटी
२०७९ फागुन ७ , आईतबार ०६:०२ मा प्रकाशित

हिजो जसले तिरस्कार गर्छन्, आज उनैले अंगालो हाल्छन्

नमस्कार । मेरो नाम खैरुन निशा । मेरो घर वीरेन्द्रनगर नगरपालिका १० मा पर्छ । मसंग थुप्रै कथा ब्यथा छन्। कर्णाली उत्सवले दिएको १५ मिनेट भित्रमा सबै सुनाउन सक्दिन होला। जति सक्छु सुनाउने प्रयास गर्छु। म हुर्किँदै गरेको त्यतिखेरको समयमा छोरीलाई पढाउनुपर्छ भन्ने भावना न महिलामा थियो न त अरु समुदायमा नै।

म घरकी जेठी छोरी, मेरो बुवाले मेरा दाइ र बहिनीलाई स्कुल पठाउँदा मलाई भने स्कुल पठाउनुभएन। मलाई गोठालो बनाउनुभयो। मलाई गोठालोमात्रै भएर बस्न पटक्कै मन थिएन।

पढ्ने लालसाले नै म बुवासँग लड्दै लड्दै स्कुल गएँ। दाइ र बहिनीहरु स्कुल जाँदै गर्दा मलाई भने त्यही स्कुल जान बुवासँग लडाईं गर्नुपर्ने भयो। स्कुल पुगिसकेपछि पनि बुवाले मलाई भर्ना गर्न नै मान्नुभएन।

तर प्रधानाध्यापकले मेरो नाम निशुल्क लेखाइदिनुभयो । मैले पढ्ने सपना पुरा गर्ने अवसरको त्यो पहिलो खुड्किलो थियो। निशुल्क स्कुल पढ्न पाएपछि म पाँच कक्षासम्म पहिलो भएँ ।

तर ६ कक्षादेखि माथि पढ्न आर्थिक स्रोत जुटाउन नसकेपछि मेरो स्कुल जाने सिलसिला त्यही रोकियो । पढ्न नपाएको पछुतो अहिले पनि छ, जीवनभर नै रहनेछ। तर जति पढेको थिएँ, त्यति नै भए पनि सदुपयोग गर्न भने पाएँ।

१३ वर्षको हुँदा मेरो विवाह भयो। कसैले केही भन्यो भने रुने बाहेक अरु गर्न सक्दिनथेँ। भाग्यवश २०५२ सालमा त्यो शिक्षा सदुपयोग हुने अवस्था आयो। म महिला स्वास्थ्य स्वयमसेविका हुन पाएँ।

अरु साथीहरुले पाँच कक्षासम्म पनि पढ्न नपाएका कारण मैले अवसर पाएकी हुँ। मुस्लिम समुदायमा धेरै बच्चा जन्माउने चलन थियो। स्वास्थ्य स्वयम्सेविका भएपछि मैले जन्मान्तर नै नगरि धेरै बच्चा जन्माउने सिलसिला तोड्नुपर्छ भन्नेतिर मेरो ध्यान जान थाल्यो। मैले स्वयमसेविका भएपछि गर्नुपर्ने काम के हो भन्ने कुरा मेरो दिमागमा खेल्न थाल्यो।

मैले समुदायका साथीहरुलाई अस्थायी साधन प्रयोग गर्न लगाएँ। त्यसअघिसम्म परिवार नियोजन हाम्रो समुदायमा बर्जित जस्तै थियो। त्यही सोचका कारणले पनि होला साथीहरुलाई गलत काम भयो भन्ने भएछ।

हाम्रो समाजमा तीनपटक तलाक भनेपछि घरबाट निस्किनुपथ्र्यो। त्यसका लागि पनि अभियान चलाएँ। तलाकलाई कानुनले मान्यता दिएको थिएन, त्यसो गर्नेलाई कानुनको कठघरामा उभ्याउने अभियान मैले चलाएँ। मेरो अभियानले महिलालाई त सहयोग पुग्यो तर पुरुषहरुले मलाई समाज भाँडेको आरोप लगाए।

त्यसो हुँदा मेरो समाजलाई असह्य भयो। मलाई किन अभियान चलाइस र किन यो कुरा सार्वजनिक गरिस् भनेर पुरुषहरुले मस्जिदभित्र लगेर कठघरामा घुडा टेकाएर माफी माग भन्नुभयो तर मैले माफी मागिन।

किन भने मलाई असल काम गरेको छु भन्ने मलाई त्यो बेला पनि लागेको थियो, अहिले पनि लाग्छ। मैले उहाँहरुलाई जितेर उठें तर मलाई लाञ्छना लाग्न छोडेन। त्यसपछि मैले जीवनमा विर्सिनै नसक्ने चुनौति खेपें।

तर महिला, समाजप्रति गर्ने दायित्वबाट पछि हटिन। बरु महिलाका लागि सहयोग माग्न कुनै ठाउँ बाँकी राखिन। मैले अशक्तहरुलाई सहयोगका लागि मैले सहयोग गर्न थालें। अप्ठ्यारोमा परे पनि सहयोग गर्न छोड्न हुन्न र मलाईजस्तै अरु अप्ठ्यारो नपरोस् भनेर म निरन्तर काममा लागिरहेँ।

त्यसो गर्दा मैले समाजबाट हौसला पाउनुपर्ने थियो। तर समाजबाट जुन हौसला पाउनुपर्ने थियो, पाइन तर मैले जिम्मेवारी छोडिन। खोप लगाउने, गर्भवती महिलालाई जचाउन सँगै जान्छु।

मैले कुनै जात भनिन, कुनै समुदाय भनिन। मैले अहिले विकास निर्माणमा पनि आफ्नै नेतृत्वमा गाउँको दुई तर्फी नाला बनाएको छु, बाटो बनाएको छु। तपाईंहरुलाई पनि म भन्छु, जस पाइन भनेर कोही पनि साथीहरु पछाडि नहट्नुहोला काम गर्न चाहेपछि पढाइले रोक्दो रहेनछ।

भोलि राम्रो काम गरेर मर्नुपर्छ म मरे पनि मेरो नाम जिवित रहन्छ भनेर अघि बढ्नुपर्छ। तिरस्कारको मानसिकता नराख्नुहोला तिरस्कारको मानसिकताले कहिल्यै अघि बढ्न सकिन्न।

चुनौतिले नै मलाई आँट बढायो। म पछि हटिन। मैले पुरस्कार पाउन काम गरेको हैन, तर म मरे पनि मेरो नाम अमर रहोस् भनेर प्रतिबद्ध भएर लागेको छु। त्यतिखेर मलाई मश्जिदको कठघरामा उभ्याउनेहरु मलाई अहिले सफल मान्नुहुन्छ।

हिजो म सही बाटोमा हिडेकोले त्यतिबेला तिरस्कार गर्नेहरुले अहिले मलाई अंगालो हाल्नुभएको छ। त्यसले मलाई खुसी दिन्छ।

कर्णाली महोत्सव