काठमाडौं १७ फागुन। भारतमा खाना पकाउने ग्यास सिलिन्डर महंगो भएको छ।
आजबाट भारतमा घरेलु रुपमा प्रयोग हुने ग्यास सिलिन्डरको मूल्य ५० रुपैयाँ बढेको छ भने व्यवसायिक ग्यास सिलिन्डरको मूल्य ३५० रुपैयाँ बढाइएको छ।
भारतमा आजबाट बैंकहरुबाट लिने ऋणको ब्याजदर पनि बढाइएको छ। भारतको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा हुँदै आएको आरतीको मूल्य पनि महँगो भएको छ।
आजबाट मंगला आरतीका लागि ३५० रुपैयाँको सट्टा ५०० भारतीय रुपैयाँ तिर्नुपर्नेछ।
यस्तै नेपालमा पनि भारतले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढाएर पठाएको छ।
भारतीय आयल कर्पोरेसन आईओसीले निगमलाई १५ दिनमा मूल्य सूची पठाउने प्रचलनअनुसार नयाँ सूची पठाउने क्रममा मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ।
जसअनुसार ग्यासको मूल्य ३ सय ३९ रुपैयाँ वृद्धि भएर आएको छ। यससँगै ग्यासमा प्रतिसिलिण्डर ६ सय ३५ रुपैयाँ नोक्सान बेहोर्नु पर्ने निगमको भनाइ छ।
भारतबाट ग्यासको मूल्य बढेर आए पनि डिजेल र पेट्रोलको मूल्य भने सामान्य घटेर आएको छ। निगमका अनुसार डिजेल प्रतिलिटर ५ रुपैयाँ ५ पैसा तथा पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा घटेर आएको छ।