काठमाडौं १८ फागुन। नेपाली कांग्रेसका प्रभावशाली मोहनबहादुर बस्नेतले पुस १० गतेको राजनीतिक कोर्ष करेक्सन भइसकेको बताए।
उनले अब नयाँ समझदारीका साथ दलहरू अघि बढ्ने बताएका छन्।
पूर्वमन्त्री बस्नेतले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको आठ दलीय गठबन्धनबीचको राजनीतिक समझदारीले देशलाई निकास दिने बताएका छन्।
उनले राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको बताउँदै सम्हालिएर अघि बढ्नका लागि उत्साह राख्नुपर्ने र राजनीतिक निकासका लागि उच्च सुझबुझ राख्नुपर्ने बेला आएको भनाइ राखे।
‘कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवाजीले दूरदर्शिता राख्नुभयो, हामीले राजनीतिक निकासका लागि दिशानिर्देश गर्ने, संवाद गर्ने र देशको अहिलेको आवश्यकतालाई बोध गरेर रुपान्तरणको बाटोमा अघि बढ्न प्रेरित गरेपछि अब देशले निकास पाउने आशा जागेको हो,’ उनले भने।
उनले सरकार गठनपछि एमालेको गतिविधि त्यति राम्रो नभएको आरोप लगाए। राप्रपा र रास्वपालाई राम्रा मन्त्रालय जिम्मा लगाउने र अस्थिरतामार्फत फेरि कुनै पनि बेला चुनाव हुने अवस्था आउन सक्ने वातावरण बन्दैपछि कांग्रेसले चुनावी गठबन्धन ब्यूत्याउन प्रयास थालेको उनको भनाइ छ । ‘प्रधानमन्त्रीजीले एमाले नेताको घरमा दिनैपिच्छे जानुपर्ने अवस्था आयो । कांग्रेसभित्र संविधानको रक्षाका लागि, राजनीतिक स्थिरताका लागि, विकासका लागि कांग्रेसले अग्रसरता दिनैपर्छ भन्ने बहस सुरु भयो ।’
‘वार्ताकारको गल्ती हामीले सच्यायौँ’
कांग्रेस केन्द्रीय सदस्य बस्नेतले कांग्रेसको त्यही अग्रसरताका कारण पाँच दलीय गठबन्धन ब्यूतिएको बताए।
सुरुआतमा माओवादी उपमहासचिव वर्षमान पुन अनन्तसँग संवाद गरेको बताउँदै नेता बस्नेतले त्यसपछि क्रमशः सहकार्यमा पुगेको जानकारी दिए।
उनले नयाँ राजनीतिक अध्याय सुरु भएको बताउँदै यसमा सत्ता स्वार्थ नरहेको दावी गरे। ‘राजनीतिक निकास र दलहरूबीचको सहकार्यलाई जीवन्त राख्न हामी सहकार्यमा पुगेका हौँ,’ उनले भने।
बस्नेतले पार्टीभित्रकै केही नेताका कारण गठबन्धन भत्किए पनि अन्ततः पुनर्मिलन भएको बताए।
‘कांग्रेसकै केही वार्ताकारहरूले राजनीतिक सुझबुझ राख्नसक्नुभएन। वार्ताकारहरूले जिम्मेवारी निभाउन सक्नुभएन। आउनसक्ने परिस्थितिजन्य क्रियाकलापहरू बुझ्न सक्नुभएन। सरकार बनाउने परिस्थिति रोकियो। र, अर्को परिस्थिति बन्यो, अहिले आएर त्यो अवस्था करेक्सन भइसकेको छ,’ उनले भने।
मोहन बस्नेत