Logo
२९ वैशाख २०८२, सोमबार

उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी दर्ता

अक्षरपाटी
२०७९ फागुन २७ , शनिबार ०३:०३ मा प्रकाशित

काठमाडौं । चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज ४ जनाको उम्मेदवारी दर्ता भएको छ।

आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएअनुसार सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले पनि पार्टीकी सप्तरी इन्चार्ज ममता झालाई उम्मेदवार बनाएको छ। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके० राउतले उपराष्ट्रपति पदमा पार्टीको उम्मेदवारी फिर्ता नहुने बताए।

राष्ट्रपतिको चुनावबाट एक्लिएको नेकपा एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ।

शाक्यको उम्मेदवारी दर्ता गराउन पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु निर्वाचन अधिकृतको कार्यालय रहेको संसद भवन पुगेका थिए।

सत्ता गठबन्धनका तर्फबाट ३ जना र नेकपा एमालेका तर्फबाट १ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने भनेपछि सत्ता गठबन्धनले रामसहायका अलावा प्रमिलालाई पनि उम्मेदवार बनाएको हो। उनीहरु दुवैको प्रस्तावक र समर्थकमा सत्ता गठबन्धनका नेताहरु छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धन दलको बैठकले साझा उम्मेदवार तय गर्न नसकेपछि जसपा र जनमत पार्टीले अलग अलग उम्मेदवार मैदानमा उतारेका हुन्।