Logo
२७ वैशाख २०८२, शनिबार

मेडिकल क्षेत्रको अवैधानिक व्यापारबारे समाचार लेखेका पत्रकार ऐरमाथि सांघातिक हमला, सर्वत्र निन्दा

अक्षरपाटी
२०७९ फागुन २८ , आईतबार ११:०३ मा प्रकाशित

धनगढी २८ फागुन। मेडिकलहरुको अवैधानिक व्यापार र अस्पतालहरुको ब्रह्मलुटबारे समाचार लेखेकै कारण धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि सांघातिक हमला भयो। उनीमाथिको घटनालाई लिएर सर्वत्र निन्दा भइरहेको छ।

रुबस होटेलमा जमघट भएका अस्पताल संचालक, फार्मेसी संचालकलगायतले खुला रुपमा आफ्नाविरुद्ध लेख्ने पत्रकारको टाउको फुटाउनुपर्छ, हात काट्नुपर्छ भनेकै साँझ उनीमाथि घटना हुनु रहस्यमय रुपमा हेरिएको छ।

यही विषयलाई लिएर नागरिक दैनिकका पत्रकार दिलबहादुर छत्यालले सामाजिक सञ्जालमा आफ्नो धारण राखेका छन्। मेडिकल माफियाले सेटिङ मिलाएर फार्मेसी, अस्पतालमा गरिरहेको विकृति, बेथिति, ब्रम्हलुट र अपराधिक कृयाकलाप झल्किने समाचार प्रकाशित गरेरै पत्रकार ऐरमाथि आक्रमण भएको उनको जिकिर छ।

उनले लेखेका छन्, ‘रुबस होटेलमा जमघट भएका अस्पताल संचालक, फार्मेसी संचालक लगायतले सबैका अगाडि खुल्लमखुला हाम्रा बारेमा लेख्ने त्यो पत्रकारको टाउको फुटाउनु पर्छ, हात काट्नु पर्छ भन्नु र साँझ रुवस होटेलकै कार्यक्रममा सहभागी तिनै पत्रकार ऐर राती ९ बजेतिर एकाएक टाउकोको पछाडि ५ टाँका लाग्ने गरि गम्भिर चोट लागेर बेहोस अवस्थामा अस्पतालमा भर्ना हुनु भनेको हावा चल्नु र रुख ढल्नु मात्र हो कि अरु केही रहस्य हो ? यो खुल्दै जाला १ तर अस्पतालमा उपचार नसकिँदै, घटनाको छानबिन नहुँदै प्रहरी टोलीकै अघि माफियाहरूको सेटिङमा अस्पतालले लडेर टाउकोमा चोट लागेको भनेर रिपोर्ट लेख्न गरेको प्रयासले सेटिङमा कति हदसम्म चलखेल हुन्छ भन्ने नाङ्गो रुप देखियो। पत्रकार ऐरको टाउकोमा लागेको चोटको कारण छानबिनबाट निस्केला १ तर चलखेल र सेटिङमा जस्तोसुकै घटनालाई पनि ढाकछोप गर्न कति छिटो कसरत हुन्छन भन्ने कुरो चाहिँ त्यो भन्दा ठूलो अनुसन्धान र चिन्ताको विषय छ।’

शनिबार राति ९ बजे ऐरमाथि रुबस होटलमा आक्रमण भएको थियो। धारिलो हतियारले उनीमाथि प्रहार हुँदा उनको टाउकोमा गहिरो चोट लागेको छ। उनी अहिले उपचाररत छन्।

धनगढी खबरसँग आबद्ध ऐरले केही दिनयता मेडिकल माफिया र अवैध फार्मेसीका विरुद्ध समाचार लेख्दै आएका थिए।

घटनालाई लिएर धनगढी खबर डटकमका सम्पादक हरि जोशीले विज्ञप्ति जारी गर्दै ऐरमाथि भएको कुटपिटको निन्दा गरेका छन्। उनले अज्ञात व्यक्तिले कुटपिट गरेको भन्दै दोषीलाई तत्काल कानुनी कारबाहीमा ल्याउन उनले माग गरेका छन्।

पत्रकार माथि भएको घटनाकाविरुद्ध विभिन्न संघ संगठनले पनि भर्सन गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

घटनालाई लिएर प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले पनि निन्दा गरेका छन्। यनले सुनियोजित घटनाका दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन्।

प्रेस चौतारी नेपाल, कैलालीका अध्यक्ष भानुभक्त आचार्यले पत्रकारमाथि यस किसिमका घटना हुनु निन्दनीय भएको बताए। घटनालाई लिएर देशभर कार्यरत पत्रकारले निन्दा र भत्र्सना मात्रै गरेका छैनन्, घटनाकाे मिहिन अनुसन्धान र मेडिकल क्षेत्रकाे विकृतिमाथि पनि अनुसन्धान तथा नियमन गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदेव चन्दका अनुसार इन्स्पेक्टरको टोली घटनाको अनुसन्धानमा खटिएको छ।

उनले चाडै घटनाको अनुसन्धान गरेर वास्तविक कुरा बाहिर ल्याउने बताए।

जिल्ला प्रशासन कार्यालयले होटलको सिसिटिभी फुटेजको अनुसन्धान गर्ने बताएको छ।

शेरबहादुर ऐर