Logo
२६ पुस २०८१, शुक्रबार

कांग्रेसको राजनीतिक नर्सरी मानिने नेविसंघमा समानान्तर कमिटिको तयारी

अक्षरपाटी
२०७९ चैत्र ८ , बुधबार ०७:०३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विधार्थी संघले विधानमा ३२ वर्ष उमेर हद लगाएपछि पटक पटक नेविसंघ नेतृत्व विहीन बनेको छ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले २०७८ चैत्र ९ गते नेविसघंको अध्यक्षमा दुजाङ शेर्पालाई र तरुणदलको अध्यक्षमा विद्वान गुरुङलाई चयन गरेका थिए।

नेतृत्व पाएको १२ महिनासम्म पनि कार्यसमितिले पूर्णता पाउन सकेको छैन। दुवै अध्यक्षलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन गर्न समय तोकिएको थियो।

निर्वाचन आयोगले २८ मंसिर, २०७९ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको थियो। त्यसको तीन महिना वितिसक्दा पनि स्ववियु निर्वाचनका कारण नेपाली कांग्रेसले मौनता साधेर कुनै निर्णय गरेको थिएन। अवधि सकिए पनि अध्यक्षको एकल नेतृत्वमा रहेको नेविसंघवाट चिठी वितरण गरी मनोनित गर्ने कार्य भने रोकिएको छैन।

अध्यक्ष शेर्पा माथि नेपाली कांग्रेसको नर्सरीका रुपमा रहेको नेपाल विधार्थी संघले पार्टीले दिएको म्यान्डेट भन्दा बाहिर गएर मनोमानी ढंगले कम्युनिष्ट शैलीमा जिल्ला जिल्लामा गुटको खेती गरेको, नेविसंघ जिल्ला समितिहरुको नेतृत्व बिक्री गरेको, आफ्नो म्याद सकिँदै गर्दा समेत संगठन कब्जा गरेर लेटर प्याड र छाप दुरुपयोग गरेको, स्ववियु निर्वाचनमा निर्मम रुपले संगठनभित्रका योग्य साथीहरुको राजनैतिक हत्याको षडयन्त्र गरेको, विभिन्न बहानामा तीन तिहको निर्वाचन र स्ववियु निर्वाचनमा चन्दा आतंक गरेको, नेविसंघको ऐतिहासिक गरिमा बिर्सिएर गैरराजनीतिक सहकार्य गर्न आम कार्यकर्तालाई बाध्य पारेको लगायतका आरोपहरु नेविसंघ वृहत संघर्ष समितिले लगाएको छ।

संघर्ष समितिले नेविसंघको अनामनगर स्थित केन्दीय कार्यालय तालाबन्दी गरेको हप्ता दिन भैसकेको छ। कांग्रेस काठमाडौं कार्यालय समेत नेविसंघकै विवादका कारण तालाबन्दी गरिएको छ।

केही समयअघि कांग्रेस दोलखाका सभापति र मकवानपुरका सभापतिले दुजांङ शेर्पाको कामप्रति सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए।

नेविसंघ प्राविधिक विधार्थी परिषदका कार्यवहाक सभापति रहेका राजेन्द्र चटौत र उनको समूहले आज सामाजिक संजाल मार्फत राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विधार्थी एकता रक्षार्थ बृहत्तर विधार्थी भेला मार्फत नेविसंघको केन्द्रिय नेतृत्व चयन कार्यक्रमको निमन्त्रणा व्यानर सार्वजनिक गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाका राजेन्द्र चटौत समूहले कार्यक्रमको स्थान र समय भने खुलाएको छैन।

नेता राजेन्द्र चटौतले भने देशभरिका साथीहरुको सहभागिता सुनिश्चित गर्न तयारी चलिरहेकाले चाडै कार्यक्रमको स्थान र समय तय गरिने बताए।