काठमाडौं ९ चैत। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन्।
बिहीवार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्रमा देखिएको समस्या रहिरहने बताएका हुन्।
उनले देशमा सुशासन कायम गर्न नसके, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाएपनि देशको अर्थतन्त्र चलायमान नहुने बताए।
उनले अर्थतन्त्रको गतिलाई अघि बढाउन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताए। मन्त्री श्रेष्ठले नेपालको धेरै ठूलो व्यापार घाटा रहेको बताउँदै त्यसलाई कम गर्न उत्पादन वृद्धि, आयात प्रतिष्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवद्र्धन गर्न जरुरी भएको औल्याए।
उनले ऋणको ब्याजदर धेरै नै बढेको बताउँदै ठोस निर्णय गरेर कार्यान्वयन गर्ने बिन्दुमा सरकार नरहेको जानकारी दिए।
भने, ‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन, पुँजीगत खर्चमा वृद्धि, कार्यान्वयन क्षमतामा वृद्धि हो। व्यापार घाटा, जो भीमकाय छ, त्यसलाई घटाउनु हो, व्यापार घाटा सम्बन्धमा स्वभाविक रुपमा तीनवटा कुरा हामीले गर्नैपर्छ। उत्पादनको वृद्धि, आयात प्रतिस्थापन र त्यसद्वारा आयात नियन्त्रण गर्ने, कृत्रिम आयात नियन्त्रण होइन, आयात प्रतिस्थापन गर्ने प्रक्रियाद्वारा आयात नियन्त्रण गर्ने र निर्यात प्रवद्र्धन गरेर मात्रै हामीले व्यापार घाटा कम गर्नसक्छौँ।’
उनले यदी सुशासन कायम गर्न सकिएन भने, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न सकिएन भने र व्यापार घाटा कम गर्न सकिएन भने समृद्धिको जतिसुकै नारा लगाएपनि हाम्रो अर्थतन्त्र चलायमान हुन नसक्ने बताए।
‘अहिले ब्याजदर असाध्यै बढेको छ। यसले समस्या पारिरहेको छ। प्रधानमन्त्रीज्यु बोलिरहनुभएको छ, बैठक पनि गरिरहनुभएको छ’, उनले भने, ‘तरपनि हामीले व्यापारमा ठोस निर्णय गरेर कार्यान्वयन गर्ने बिन्दुमा आइसकेका छैनौँ तर गम्भीरतापूर्वक तयारी गरिरहेका छौँ।’