Logo
२६ पुस २०८१, शुक्रबार

मिटर ब्याज पीडितसँग वार्ता गर्न बनेको सरकारी टोलीबारे जानकारी नभएको सह-सचिव शर्माको भनाइ

अक्षरपाटी
२०७९ चैत्र १४ , मंगलबार १२:०३ मा प्रकाशित

काठमाडौं । मिटर ब्याज पीडितको समस्या समाधानका लागि सरकारले वार्ता टोली गठन भएको समाचार बाहिरिएपछि संयोजक भनिएकी नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सह सचिव रुद्रादेवी शर्माले आफूलाई जानकारी नभएको बताएकी छन्।

बर्दिबासदेखि १२ दिनको पैदल यात्रा गरेर काठमाडौं आइपुगेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन भएको प्रचारमा आएको छ।

संयोजकका रुपमा कसरी र कहिलेसम्म समस्या समाधानको पहल हुन्छ भन्ने जिज्ञासा राख्न खोज्दा शर्माले अक्षपाटीसँग भनिन्, ‘खै मलाई यसबारे जानकारी छैन, मिडियामा कहाँबाट र कसरी कुरा आउँछ, मलाई नै वार्ता टोली बनेकोबारे जानकारी छैन।’

वार्ता टोलीबारे शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उप सचिव दिल कुमार तामाङले पनि पूर्ण जानकारी नभएको तर आफ्नो पनि नाम उल्लेख भएको भए हुनसक्ने बताए। उनले भने, ‘अहिलेसम्म आधिकारिक जानकारी आएको त छैन, प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको होला, सचिवालयबाट सूचना दिइएको होला।’

दिल कुमार तामाङ, उप सचिव

एक लाख ऋण लिएर २० औँ लाख तिर्दा पनि मिटरब्याजी महाजनहरुले सर्वसाधारणको घरखेत नै हडपेको पीडा बोकेर लालाबाला, वृद्धा महिलासहितको ७२ जनाको टोली बर्दिबासदेखि चैत २ गते काठमाडौं हिँडेको थियो।

पीडाका अगाडि भोक प्यास केही नभनी दूधेबालकसहित पैदल मार्च हिंडेका उनीहरुको पीडा सरकारले उनीहरुका माग सम्बोधन गरेको छैन। सोमबार काठमाडौं महानगरले उनीहरुलाई खुलामञ्च प्रवेशमै रोक लगाएको थियो।

आज मिटर ब्याज पीडितहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका धर्नामा बसेका छन् ।