चैत २२, काठमाडौँ। निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ ।
आयोगले उम्मेदवारकाबिरुद्धमा मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो ।
तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रवि लामिछानेविरुद्ध ४ वटा उजुरी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरे पछि चितवन २ मा पुनः उपनिर्वाचन हुन लागेको हो । उनीमाथि परेको उजुरीउपर चितवन निर्वाचन कार्यालयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्तिपथमा पत्र पठाउँदैछ ।