Logo
६ पुस २०८१, शनिबार

सुदूरपश्चिममा चार मन्त्रालय रित्तै, बजेट कार्यान्वयन र योजना तर्जुमा प्रभावित

अक्षरपाटी
२०८० वैशाख १३ , बुधबार ०२:०४ मा प्रकाशित

धनगढी। सरकार बनेको चार महिना हुँदा पनि सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्रालय चार महिनादेखि मन्त्रिविहीन छन्।

चालू आर्थिक वर्षको अन्तिम र आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्ने बेला पनि मन्त्री नहुँदा विकास निर्माण र योजना बनाउने काम प्रभावित भएको छ।

गत मंसिरमा भएको निर्वाचनपछि पुस २६ गते एमालेका राजेन्द्रसिंह रावलको नेतृत्वमा बनेको सरकार विश्वासको मत नपाउँदा महिना दिनमै ढलेको थियो।

त्यसलगत्तै कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा बनेको दुईतिहाई मतसहितको सरकारले पनि भागबन्डाको किचलोका कारण मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्।

माघ २६ मा सरकारको नेतृत्व सम्हालेका शाहले सत्ता गठबन्धनबीच बागबन्डा मिलाउन नसकेपछि करिब तीन महिनादेखि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्।

सुदूरपश्चिममा सात सदस्यीय मन्त्रिपरिषद भए पनि चार मन्त्रालय चार महिनादेखि रिक्त छन्। यतिबेला शाहको नेतृत्वमा बनेको सरकारमा कांग्रेसका तर्फबाट प्रकाशबहादुर देउवा भौतिक विकास र एकीकृत समाजवादीबाट नरेशबहादुर शाही आर्थिक मामिला मन्त्री छन्।

चार मन्त्रालयको जिम्मेवारी शाह आफैँसँग छ। मन्त्रालयले लामो समयसम्म नेतृत्व नपाउँदा कतिपय सच्याउनुपर्ने योजनाका त्रुटि त्यसै थाती राख्नुपरेको बताइएको छ।

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको चटारो र आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रभावित बनेको छ। कतिपय योजना आर्थिक वर्षको अन्त्य हुनलाग्दा पनि कार्यान्वयनमा जान सकेका छैनन्।

सुदूरपश्चिम प्रदेश सरकार