Logo
१८ वैशाख २०८१, मंगलबार

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

अक्षरपाटी
२०८० वैशाख १६ , शनिबार ०८:०४ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेता डीपी अर्यालले पदबाट राजीनामा दिएका छन्।

नागरिकता विवाद मुद्दामा गत माघमा सर्वोच्च अदालतको फैसलापछि पार्टी सभापति समेत रहेका रवि लामिछानेको संसद पद नरहेपछि उनले संसदीय दलको नेताको जिम्मेवारी समेत त्यागेका थिए। त्यसपछि अर्याल दलको नेतामा मनोनित भएका थिए।

बैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी सभापति लामिछाने पुनः गर्विलो मतसहित विजयी भएपछि संसदीय दलको नेता पुनः लामिछाने नै हुनुपर्ने मतसहित अर्यालले राजीनामा दिएको जनाएका छन्।

उनले आज एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘पार्टीका संस्थापक सभापति तथा तत्कालीन संसदीय दलका नेता सर्वोच्च अदालतको फैसला पालनाका क्रममा पद मुक्त हुनुभएकोमा उक्त विषम अवस्थामा संसदीय दलको नेताको जिम्मेवारी मैले सम्हालेको विदितै छ। हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत छ।’

उनले आफ्नो कार्यकालमा साथ दिएकोमा माननीयहरुप्रति आभार व्यक्त गर्दै भनेका छन्, ‘यो जिम्मेवारीमा पार्टी सभापति नै हुनुपर्छ। आजकै मितिदेखि लागू हुनेगरी मैले रास्वपाको संसदीय दलको नेताको पद त्याग गर्दै राजीनामा दिएको छु।’

डीपी अर्याल रास्वपा