Logo
८ पुस २०८१, सोमबार

अर्थतन्त्र मन्दीतर्फ गएको राष्ट्र बैंकद्वारा स्वीकार, केही क्षेत्रलाई राहत

अक्षरपाटी
२०८० वैशाख २९ , शुक्रबार ०२:०५ मा प्रकाशित

काठमाडौं। नेपाल राष्ट्र बैंकले अर्थतन्त्र मन्दीतर्फ गएको स्वीकार गरेको छ।

अर्थतन्त्र मन्दीतर्फ गएको स्वीकार्दै त्रैमासिक समीक्षामार्फत पुनर्कर्जाको ढोका खुला गर्ने जनाएको छ।

राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत मन्दीमा गएको क्षेत्रलाई चलायमान बनाउन कोषमा भएको रकम बराबर पुनर्कर्जा दिने नीति लिएको छ।

अहिले राष्ट्र बैंकको कोषबाट साढे ६ अर्ब रुपैयाँ पुनर्कर्जा प्रयोगमा छ। राष्ट्र बैंकको कोष करिब ५० अर्ब रुपैयाँको छ। पुनर्कर्जाको ब्याज सस्तो हुन्छ। कोषको यो रकम बजारमा जाँदा बजार चलायमान बनाउन सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ।

ब्याजदर थप घटाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नीतिगत दबाब दिएको छ। उसले बैंकदर साढे ८ प्रतिशतबाट साढे ७ प्रतिशतमा झारेको छ।

यसले सरकारी ऋणपत्रको ब्याज घटाउनुका साथै बैंकहरुलाई सस्तोमा निक्षेप उठाउन दबाब बढ्नेछ। राष्ट्र बैंकले ऋणपत्र पुस मसान्तसम्म सीडी रेसियोमा गणना गर्न पाइने व्यवस्था गरी बैंकहरुलाई ऋण लगानीमा प्रोत्साहित गरेको छ।

चालु पुँजी कर्जामा समेत राष्ट्र बैंक सकारात्मक बनेको छ। अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जालाई ब्याज नियमित रहेको अवस्थामा तीन महिनासम्मका लागि असार मसान्तभित्र म्याद थप गर्न सकिने सुविधा दिइएको छ।

यस्तै लघुवित्तका ऋणीलाई पनि राहत दिइएको छ। लघुवित्तको कर्जा असार मसान्तसम्म पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाइने भएको छ।

होटल तथा रेस्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र अन्य क्षेत्रमा प्रवाह भएको पाँच करोडसम्मको कर्जालाई असार मसान्तभित्र पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने सक्ने सुविधा दिइएको छ।

घरजग्गा र सेयर बजारलाई प्रत्यक्ष रुपमा सम्बोधन गरिएको छैन। तर नीतिगत दर घटाइएकाले यसबाट सेयर बजारलाई लाभ पुग्ने राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ।