Logo
२३ पुस २०८१, मंगलबार

टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्म कैदको फैसला सर्वोच्चद्वारा सदर

अक्षरपाटी
२०८० जेठ २ , मंगलबार ०५:०५ मा प्रकाशित

काठमाडौं। सात जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी टिकापुरमा भएको हिंसात्मक घटनाका ओरोपी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालतको दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपालप्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको हत्या भएको थियो। सोही हिंसात्मक घटनाको आरोपमा चौधरी सजाय काटिरहेका छन्।

उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो। सोही फैसला आज सर्वोच्चले सदर गरिदिएको हो।

उच्चको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए। सो मुद्दा सोमबार नियमित सुनुवाइका लागि पेशी तोकिएको थियो। न्यायाधीशद्वयको इजलासले मुद्दामा सुनुवाइ नसकिएपछि आज पनि त्यसलाई निरन्तरता दिएको थियो।

सोही मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजाय सुनाएका लक्ष्मण चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो। सर्वोच्चले उनलाई जन्मकैद नहुने र जिल्ला अदालतकै फैसला सदर हुने ठहर सुनाएको छ।