Logo
८ पुस २०८१, सोमबार

पशुचौपायामा फैलिएको लम्पी स्किन सङक्रमण निको हुने दर बढ्दै

अक्षरपाटी
२०८० साउन १० , बुधबार १०:०७ मा प्रकाशित

काठमाण्डौ,१० साउन। पशुचौपायमा फैलिएको लम्पी स्किन रोगको सङक्रमण निको हुने दर बढ्दै गएको छ ।

अहिलेसम्म देशभरका गरी १० लाख ५४ हजार पशु सङक्रमित भएको पशु सेवा विभागको तथ्याङ्क छ । तीमध्ये सात लाख ६८ हजार पशुमा सङक्रमण निको भैसकेको छ । अहिले सक्रिय अवस्थाका सङक्रमित पशुको संख्या २ लाख ६८ हजार छ ।

लम्पी स्किनकै कारण बितेका ५ महिनामा ४८ हजारभन्दा धेरै गाई–भैँसी मरेका छन् ।

यो रोगको सङक्रमण सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा धेरै छ । यो रोगविरुद्धको खोप एलएसपी लगाइएका गाई–भैँसीको संख्या तीन लाख एक हजार भन्दा धेरै रहेको पशु सेवा विभागको तथ्याङ्क छ ।

सरकारले रोग नियन्त्रणका लागि हरेक पालिकालाई यसअघि नै एक लाख रुपैयाँ बजेट निकासा गरेको थियो  । लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ ।

ज्वरो आएको पशुलाई बथानबाट अलग्गै राख्न, आराम गराउन र पानी तथा पोषणयुक्त खानेकुरा दिन कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव डा.रामनन्दन तिवारीको आग्रह छ ।

लक्षणबाट जटिल अवस्था भएपछि पशु मर्ने गरेका छन् । लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराले यो रोग सार्ने गर्छन् ।