Logo
८ पुस २०८१, सोमबार

बारामा प्रहरी र स्थानीयबीच झडप, हतकडीसहित युवक फरार

अक्षरपाटी
२०८० साउन १६ , मंगलबार ०२:०८ मा प्रकाशित

सिमरा,१६ साउन । हतियारसहित युवक पक्राउ गर्ने क्रममा बाराको जीतपुरसिमरा १६ टांगियाबस्तीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । घरमा हतियार राखेको सूचना पाएपछि पुगेको निजगढस्थित इलाका प्रहरी कार्यालय प्रहरी टोलीले ३५ वर्षीय सागर लामालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा मंगलबार बिहान पुगेको प्रहरी टोलीले हतियारसहित युवकलाई नियन्त्रणमा लिएर लैजान लाग्दा स्थानीयले घेरा हालेर प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । सयौंको संख्यामा रहेका स्थानीयले आक्रमण गर्न थालेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो ।

स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि पक्राउ परेका लामा हतकडीसहित फरार भएका छन् । प्रहरीलाई बाटोमा घेरा हालेर स्थानीयले ढुंगा प्रहार गर्न थालेपछि लामा हतकडीसहित फरार भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

स्थानीयसँग झडप हुँदा इलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बलराम गिरी सामान्य घाइते भएका छन् । उनीहरुको शरीरमा चोट लागेको छ भने पोशाक च्यातिएको छ ।

प्रहरीले लामाको घरबाट गोली भरिएको भरुवा बन्दुकसहित बाघको दाँत,रौं,नंग्रा जस्तो देखिने वस्तु बरामद गरेको छ । प्रहरीका अनुसार लामा वन्यजन्तुको शिकारमा संलग्न रहदै आएका थिए ।

प्रहरी नियन्त्रणबाट उम्किएका लामाको खोजी भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिएका छन् ।