काठमाडौं,१७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी पार्टीजस्तो नभएको गुनासो व्यक्त गरेका छन्। बुधबारबाट सुरू भएको माओवादी केन्द्रको चौथो केन्द्रीय कमिटी बैठकको अध्यक्षता ग्रहण गर्दै प्रचण्डले पार्टी निर्माणको विषयमा जिम्मेवार भएर लाग्न कार्यकर्तालाई आग्रह गरेका हुन्।
‘पार्टीको संगठनमा नेता र कार्यकर्ताको विशाल कमिटी छ । तर, पार्टी पार्टीजस्तो भइराखेको छैन, ‘उनले भने, ‘कम्युनिष्ट पार्टीको पुन:निर्माण अभियान यो बैठकबाट थाल्नुछ। केन्द्रीय कमिटीका जिम्मेवार सदस्यहरूले गम्भीर, जिम्मेवार र रचनात्मक ढंगले बहस गर्नुहुने विश्वास व्यक्त गर्दछु।’
प्रधानमन्त्री दाहालले बैठकले सिंगो राष्ट्र र जनताको आवश्यकतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे। उनले भने,’ पार्टी एकताको नयाँ प्रक्रियामा जाँदैछौं। बैठकले पार्टी र आन्दोलनलाई मात्रै नभइ सिंगो राष्ट्र र जनताको आवश्यकतालाई सम्बोधन गर्नेछ, ऐतिहासिक निष्कर्ष निकाल्नेछ।’
उनले माओवादीको नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशा र भरोसा पलाएको दावी गरे। ‘जनतामा उत्पन्न आशा र भरोसाको स्थिति छ। यसलाई संगठनमा रुपान्तरण गर्ने र जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन अभियान बदल्ने जिम्मेवारी बढेको छ,’उनले भने।