Logo
२६ पुस २०८१, शुक्रबार

‘जोगिन्दर’ले ल्याए गाईजात्रे झटारो ‘लुछाचुँडी’

अक्षरपाटी
२०८० साउन १८ , बिहीबार ०६:०८ मा प्रकाशित

काठमाडाैँ १८ साउन। लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले आउँदो जाइजात्रालाई लक्षित गर्दै गाइजात्रे कमेडी कोसेली ‘लुछाचुँडी’ ल्याएका छन्।

दर्शक तथा श्रोतालाई हास्यब्याङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिने उदेश्यले उनले ‘लुछाचुँडी’ सार्वजनिक गरेका हुन्। ओएसआरको युट्युव च्यानल मार्फत सार्वजनिक ‘लुछाचुँडी’मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचार मुख्य मुद्दाको रुपमा निकै मार्मिक तरिकाले चिरफार गरिएको छ।

अखण्डा भारत भित्र नेपालको भु–भाग राखिएको बिषय पनि उनको यो पटकको गाइजात्रामा परेको छ। भारतको चेपा र हेपा प्रवृति प्रति समेत उनले ब्याङ्ग्य प्रहार गर्न भ्याएका छन्।

यस्तै गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समेत उनले ब्याङ्ग्यमा समेटेका छन्। यो निर्वाचनमा ठूलाठूला नेता हारेको बिषय प्रति उनले ब्याङ्ग्य प्रहार गरेका छन्। उनले हार्ने नेतादेखि जित्ने पार्टीसम्मलाई छाडेको छैनन्।

विगतका वर्षहरु जस्तै यो पटक उनले आफ्नो ‘गाइजात्रे’ कोसेलीमा प्यारोडी पनि राखेका छन्। यो पटक उनले फिल्म ‘घामट शेरे’ को चर्चित गीत ‘कहिले साली मनपर्यो’लाई ‘कहिले देउवा मनपर्यो, कहिले ओली मनपर्यो’ भन्दै प्यारोडी बनाएका छन्।

गीतमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसँम्मलाई झटारो हानेका छन्।

दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘लुछाचुँडी’ २१ औं कोसेली हो। गत वर्ष उनले ‘गठबन्धन’ नामक गाइजात्रे कोसेली सार्वजनिक गरेका थिए। सबैतिर लकडाउन भएको कोरोनाको समय पनि उनले ‘लकडान’ नामक ब्याङ्ग्य कोसेली ल्याउदै सबैको मन जितेका थिए।

यो पटक कलाकार जोगिन्दरलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन्। गीतका शब्द लोकराज अधिकारीले कोरेका हुन्।

‘लुछाचुँडी’मा जोगिन्दरको अलवा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कल ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’ बनेका छन्। राधिका हमाल, साबित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेब गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्की लगायको समेत यसमा अभिनय छ।

प्यारोडी गीतको नृत्य निर्देशन समन अधिकारीले गरेका छन्। भिडियोको छायांकन रोयल थाइहस्पिटालीटी ठिमी र सिंगल ट्रि स्वंयम्बुमा गरिएको छ। ‘लुछाचुँडी’को लेखन, प्रस्तुति र निर्देशन शिवशंकर रिजाल ‘जोगिन्दर’ आफैले गरेका हुन्। पोष्ट प्रोडक्सन कोचे मिडियामा भएको छ।

गाइजात्रा हास्य कलाकारका लागि एउटा महान उत्सव भएकोले सधै झै यो वर्षपछि गाइजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए। ‘सँधै झै यो वर्ष पनि दर्शकश्रोताले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले भने ‘राम्रो लागेमा प्रसंसा र नराम्रो लागेमा सुझाव दिनुहोला।’

बिसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यब्याङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन्। अहिले आएको आफ्नो गाइजात्रे कोसेली समसामाहिक विषय र राजनीतिक विकृति प्रतिको खरो झटारो भएको उनको धारणा छ।

शिवशंकर अहिले ‘गाइजात्रा टुर’को पनि तयारीमा छन्। चितवनदेखि कन्चनपुरस्म्म हुने ‘गाइजात्रा टुर’ विभिन्न चर्चित हास्य कलाकारको सहभागतिा रहनेछ जागिन्दरले बताए।