काठमाडौं,२४ साउन। सुन तस्करी प्रकरणको विषयलाई लिएर आजपनि प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेको छ। बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरू सिटबाट उठेर विरोध जनाएका हुन्।
एमाले सांसद सूर्यबहादुर थापाले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएकाले अवरोध कायम राख्ने बताए।
उनले भने, ुतस्करीलाई संरक्षण गर्ने हिसाबले गृहमन्त्रीबाट जवाफ आएकाले हाम्रो विरोध जारी छ। सुन तस्करी प्रकरणको छानबिनका लागि सत्ता पक्षले यसबारे कुनै मनसाय देखाएको छैन। ु
उनी बोल्दै गर्दा सत्तापक्षका सांसदहरू उठेर विरोधमा उत्रिए। सभामुख देवराज घिमिरेले दिएको समयमा थापाले आफ्ना धारणा राख्दै गर्दा सत्ता पक्षका सांसदहरूले नियमित कार्यसूचीमा प्रवेश गर्नुपर्ने माग गरे। थापा बोलिरहेकै अवस्थामा सभामुखले सत्तापक्षका सांसदहरूलाई पनि बोल्न दिने भन्दै शान्त हुन आग्रह गरे।
तर, सत्ता पक्षका सांसद भनाभनमा उत्रिएपछि एमालेका सांसदहरू पनि आफ्नो सिटबाट उठेर वेल घेराउ गर्न पुगे। उनीहरूले सुन तस्करी प्रकरणमा छानबिन समिति गठन गर,तस्करलाई कारवाही गर भन्दै नाराबाजी गर्न थाले । तर, सभामुखले संसद बैठक अघि बढाउन आग्रह गर्दा पनि एमाले सांसदहरूले आफ्नो अडान जारी राखे।
सभामुखले जनताका विषय बैठकमा राख्नुपर्ने भएकाले आफ्नो आसनमा फर्कन पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरूले अवरोध जारी राखेपछि २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिए।