काठमाडौं,२६ साउन । एक–दुई दिनयता निष्कृय जस्तो देखिएको मनसुन शनिबारदेखि पुनः सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत छ ।
त्यसको विस्तृत जानकारी दिन र पूर्वसतर्कताका उपाय अपनाउन आग्रह गर्दै जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले पनि आज सूचना जारी गरी भोलिदेखि नदी तथा खोलाहरुमा जलसतह बढ्ने भन्दै तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक छ । यो रेखा अझै उत्तरतिर सरेर नेपालको झन् नजिक आइपुगेको छ । त्यसैको प्रभावले नेपालका धेरै ठाउँमा पानी पर्ने छ ।
एरिया कभरेजको हिसाबले र मात्राको हिसाबले पनि धेरै पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद महर्जनले जानकारी दिइन् । ‘हिजो र आज अलिकति कम पानी परेको देखिएको छ, भोलिदेखि मनसुन सक्रिय हुने भएकाले पानी पर्ने क्रम फेरि बढ्ने छ’ उनले भनिन् । उनका अनुसार सोमबारसम्मै मनसुन सक्रिय रहने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति भने कोशी र मधेश प्रदेशमा पनि भारी वर्षाको सम्भावना छ । तर पूरै प्रदेशभर नभई एक–दुई स्थानमा मात्र भारी वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
भोलि (शनिबार) पनि देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ । शनिबार राति भने सुदूरपश्चिम प्रदेशमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा जलमग्न भएका वस्तीका बासिन्दा अझै पनि सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।