Logo
९ पुस २०८१, मंगलबार

काठमाण्डौको ढुङ्गेधारामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो, एक जना घाइते

अक्षरपाटी
२०८० भदौ ३ , आईतबार १०:०८ मा प्रकाशित


काठमाण्डौ,३ भदौ । काठमाण्डौको वनस्थली ढुङ्गेधारामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एक बालिका घाइते भएकी छिन् ।

बालाजुबाट कलङ्कीका लागि छुटेको ना ५ ख ५०९२ नम्बरको बसले प्रदेश ०२–०३७प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक साँगाचोकगढीकी ३२ वर्षीया अनिता थापा र ३२ वर्षीय रामकुमार भारतीको ज्यान गएको हो । दुर्घटनामा परेर नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन् ।

अनिता र रामकुमारको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिनुभयो । टाउकोमा चोट लागेर घाइते भएकी बालिकाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको ढुङ्गेलले बताउनुभयो ।