Logo
११ पुस २०८१, बिहीबार

कञ्चनपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो

अक्षरपाटी
२०८० भदौ १३ , बुधबार ०१:०८ मा प्रकाशित


काठमाण्डौ,१३ भदौ । कञ्चनपुरको बेलौरी नगरपालिकाका ७२ वर्षीय जनकलाल चौधरीको करेन्ट लागेर उपचारका क्रममा ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका बुवा जनकलालको मङ्गलवार साँझ घरमा नुहाउने क्रममा करेन्ट लागेर घाइते भइ धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले चौधरीको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।

त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकमा मोटरसाइकल अनियन्त्रित भइ एक युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हुलाकी सडक खण्डको बेल्डाँडी गाउँपालिका–१ आनन्द टोलमा स्थानीय राधाकृष्ण टोलका २५ वर्षीय सुनिल सार्कीले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

प्रहरी प्रवक्ता डाँगीले मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ज्यान गएको जानकारी दिनुभयो ।