काठमाण्डौ,१९ भदौ । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ । नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले नेपालसँग भएको बिजुली खरिद सम्झौता स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बेला नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएकोमा भारतले सम्झौतालाई औपचारिक रूप दिएर मन्त्रिपरिषदबाटै पारित गरेको हो ।
भारतका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्माले पनि भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको उल्लेख गर्दै बिजुलीको क्षेत्रमा नेपालका लागि यो ठूलो उपलब्धि हुने बताउनुभएको छ ।
भारतको यो निर्णय नेपालको आर्थिक विकासका लागि कोशेढुङ्गा साबित हुने प्रधानमन्त्री कार्यालयले जनाएको नवभारत टाइम्स ले उल्लेख गरेको छ ।