Logo
२५ पुस २०८१, बिहीबार

रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्रीको सुझाव

अक्षरपाटी
२०८० असोज १९ , शुक्रबार ०७:१० मा प्रकाशित

काठमाडौं । हरेक दिन देश छोड्ने युवाहरुको लाम विमानस्थल र भारतीय सीमा क्षेत्रमा बढ्दै गएको छ।

सरकारले युवा जनशक्तिलाई देशमै अडियर केही गर्ने वातावरण बनाउन नसकेको गुनासो उच्च हुँदै गएको छ। सानोतिनो व्यवसाय गर्नेहरु पनि आर्थिक मन्दी, चर्को ब्याज र कालाबजारी गर्नेको मारमा परेका उदाहरण यत्रतत्र छन्।

यी सबै अवस्थालाई व्यवस्थित गरेर युवा पलायन रोक्न सरकारले ठोस योजना अहिलेसम्म ल्याउन सकेको छैन। तर अर्थमन्त्री डा प्रकाशशरण महतले एक कार्यक्रममा भने बदलिदो परिस्थितिलाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन सुझाव दिएका छन्।

स्थापनाको नवौं वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको सिपमूलक तालिमका सम्भावना र योजना विषयक नीतिगत छलफल कार्यक्रम मन्त्री महतले महासंघलाई सुझाव दिएका हुन्।

नेपालमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको मन्त्री महतको भनाइ थियो। उनले भने, ‘ठूलो संख्यामा युवाहरु विदेशिएका छन्। विदेशिएका युवा पनि दक्ष छैनन्। दक्ष हुँदा जति आम्दानी हुन्थ्यो, त्यो अवस्था रहँदैन।’

देशमा शिक्षाको विस्तार भएको छ। तालिम प्राप्त मानव संसाधनको पनि विकास नभएको होइन, सरकारकै लगानीमा पनि सिटिभिटीमार्फत धेरै संस्था बनायो। त्यसपछि यसकै सम्बन्धन लिएर धेरै संघसंस्था खडा भएको मन्त्री महतले बताए।

मन्त्री महतले युवालाई देशमै केही गर्नसक्ने बनाउनु भन्दा पनि विदेश जानेलाई सक्षम बनाउनुपर्ने आसयको अभिव्यक्ति दिए। उनले भने, ‘वैदेशिक रोजगारसँग जोडिएका तालिमहरु हुन्छन्। गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले आफ्नै किसिमले तालिमका कुरा गरिरहेका हुन्छन्। सरकारी निकायले पनि आ–आफ्नो किसिमको तालिम दिइरहेका हुन्छन्।’

उनले यसमा धेरै किसिमका डुब्लिकेशन, आवश्यकतालाई मध्यनजर गरिएको हुँदैन, कतिपय कुरा औपचारिकता पूरा किसिमको हुन्छ। विनियोजित बजेटलाई खर्च गर्न सन्दर्भमा कतिपय त्यस्ता तालिम हुने गरेको बताउँदै त्यसले ठोस परिणाम नल्याउने बताए।

बद्लिदो परिस्थितिअनुसार अहिलेको माग के छ, औपचारिक शिक्षाभन्दा पनि विशेष आवश्यकता के छ ? तत्काल रोजगार सिर्जना गर्ने अवसर कहाँ कहाँ छ ? त्यसलाई मध्यनजर गरेर व्यवसायिक तालिमलाई विस्तार गर्न मन्त्री महतले सुझाव दिए।