Logo
१२ पुस २०८१, शुक्रबार

आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा

अक्षरपाटी
२०८० असोज २१ , आईतबार १०:१० मा प्रकाशित

काठमाडौं,२१ असोज । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौं उपत्यकाका सहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ ।

यस्ता पसलबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो र सबै प्रकारका तेल किन्न पाउने छन् । कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोका समेत बिक्री वितरण हुनेछन् । उपभोग्य यस्ता सामग्रीमा किलो वा लिटरमा ७ देखि १० रुपैयाँसम्म छुट पाउनेछन् ।

साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ । यसैगरी नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने जनाएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिरमा प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम-पूर्व र रुकुम-पश्चिममा पनि सुपथ पसल सञ्चालन हुनेछन् ।

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सुपथ मूल्य पसल रहनेछन् ।