काठमाण्डौ। नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज शुरु हुँदैछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु हुन लागेको हो ।
दार्चुलाको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राको उद्घाटन गरेपछि झण्डै २ हजार किलोमिटर लामो सङ्कल्प यात्रा सुरू हुने एमालेले जनाएको छ । झुलाघाटबाट शुरु हुने सङ्कल्प यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते चिवाभञ्ज्याङ पुग्नेछ ।
आज मध्यपहाडी लोकमार्गको पश्चिमी बिन्दु झुलाघाटमा झण्डा गाडेर १७ किलोमिटर पूर्वतर्फ बैतडी सदरमुकाम गोठालापानीमा जनसभा गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । आज नै अध्यक्ष ओलीले डडेल्धुरामा आयोजना हुने सभालाई सम्बोधन गर्ने तयारी छ ।
सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा रहेका बस्ती तथा सहरमा बसोबास गर्ने स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने, मध्यपहाडी क्षेत्रका समस्याबारे छलफल चलाउने, पहाडका बासिन्दा पलायन हुनबाट रोक्ने र पहाडी क्षेत्रमै अवसरको सिर्जना गर्न आवश्यक योजना बनाउने उद्देश्य रहेको नेताहरूले बताएका छन् ।
अभियानमा अन्तरक्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफल गर्ने एमालेको तयारी छ ।