Logo
१० पुस २०८१, बुधबार

आज ‘राम-सीता’को विवाह जनकपुरधाममा गरिंदै, मधेशमा सार्वजनिक बिदा

अक्षरपाटी
२०८० पुस १ , आईतबार १०:१२ मा प्रकाशित

जनकपुरधाम,१ पुस । आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।

मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।

मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ । त्यसैले राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ ।

आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ ।

राम मन्दिरका महन्थ रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

स्वयम्बर पश्चात दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह सुरु हुनेछ । यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह हुने गर्दछ ।

सप्ताहाव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत हिजो पाँचौ दिन राम र जाजकीको मटकर सम्पन्न भएको थियो । त्यसअघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ ।

आज छैटौं दिन रामाजानकीको विवाह पश्चात भोलि सोमबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने छ ।

विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिनको बिदा २०८० को क्यालेन्डरमा छुट्याएको छ । जुन राजपत्रमा समेत प्रकाशित छ ।