Logo
८ पुस २०८१, सोमबार

उद्योगी–व्यवसायी भन्छन : प्राधिकरणले प्रमाणसहित बिल दिए महसुल तिर्न तयार छौँ

अक्षरपाटी
२०८० पुस १५ , आईतबार ०३:१२ मा प्रकाशित

काठमाण्डौ,१५ पुस । उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले प्रमाणसहित डेडिकेटेड र ट्रङ्कलाइन बापतको बिल दिएमा महसुल तिर्न तयार रहेको बताएका छन् ।आज आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर उद्योगी व्यवसायीले प्राधिकरणले अहिले विना प्रमाण हचुँवाका भरमा बिल थमाएर महसुल तिराउन खोजेको भन्दै आपत्ति पनि जनाएका छन् । उनीहरूले लोडशेडिङको समयमा तालिकाअनुसार मात्रै बिजुली प्रयोग गरेको दाबी गरेका छन् ।

लोडशेडिङको समयमा डेडिकेटेड र ट्रङ्कलाइनबाट बिजुली लिएका ग्राहकबाट अतिरिक्त शुल्क लिने निर्णयमा आफूहरूको आपत्ति नरहेको तर हचुँवाका भरमा भएको बिलिङ मान्य नहुने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताउनुभयो । उहाँले लोडशेडिङको समयमा कुन समयमा कति बिजुली उद्योगले उपभोग गरे भनेर प्रमाण माग्नु गलत हो भनेर प्राधिकरणलाई प्रश्न पनि सोध्नुभएको छ ।

यस्तै उद्योगीले विद्युत् नियमन आयोगले दैनिक छ घण्टा लोडशेडिङ भएको अवस्थामा मात्रै प्रिमियम दरमा महसुल लिन स्वीकृति दिएकोमा २०७५ वैशाख ३१ गतेदेखि लोडशेडिङ अन्त्य भएपछि पनि कुन आधारमा प्रिमियम दरमा बिल जारी भयो भनेर जवाफ मागेका छन् । डेडिकेटेडको हकमा २४ घण्टा निर्बाध र निरन्तर तथा ट्रङ्कको हकमा दैनिक छ घण्टा लोडशेडिङ भएको समयमा २० घण्टा निरन्तर बिजुली आपूर्ति गरेको प्रमाण दिएमा कानुनअनुसार प्रिमियम दरको छुट महसुल तिर्न तयार रहेको उनीहरूले जनाएका छन् ।

ट्रङ्क र डेडिकेटेड लाइनबाट बिजुली लिएका ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता नतिरेको भन्दै प्राधिकरणले अहिलेसम्म २३ वटा उद्योगको बिजुली काटिसकेको छ ।