Logo
७ वैशाख २०८१, शुक्रबार

फुकेन गठबन्धनमा सिट बाँडफाँटको गाँठो, कार्यदलको प्रतिबेदन बुझ्नुपर्ने शीर्ष नेताहरु अन्यत्रै कार्यक्रममा

अक्षरपाटी
२०७९ भदौ २३ , बिहीबार १०:०९ मा प्रकाशित

काठमाडौं। एक महिनाभन्दा बढी समय हुँदा पनि सत्ता गठबन्धन दलहरुले सिट बाँडफाँटमा सहमति जुटाउन सकेका छैनन्।

यद्यपि गठबन्धनले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँट सहमति नजिक पुगेको बताउँदै आएको छ।

सिट बाँडफाँटका लागि साउन २० गतेको गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदल बनाएको थियो। कार्यदलले नसकेपछि केही समयअघि शीर्ष नेतामै बाँडफाँटको जिम्मेवारी फर्काएको थियो। तर शीर्ष नेताहरुले पुनः मोटामोटी खाका निर्माणका लागि कार्यदललाई नै जिम्मेवारी दिएका थिए।

आज दिनभरजसो चलेको कार्यदलको बैठकमा सहमति बनेन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा द्विपक्षीय र त्रिपक्षीय छलफल भए। छलफलको विषय साँघुरिँदै गएको गठबन्धनको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।

बैठकमा चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिबारेमा छलफल भएको बताइएको छ।

दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबै दललाई सम्मानजनक र न्याय हुनेगरी कार्यदलले सिट बाँडफाँटको खाका बनाएको बताइएको छ।

कार्यदलले शीर्ष नेतृत्वलाई आज प्रतिवेदन बुझाउने भनिए पनि बुझाउन सकेन।

गठबन्धनका शीष नेताहरु नै सिट बाँडफाँटको बैठकभन्दा अन्य कार्यक्रममा हिँडेपछि आज शीर्ष नेताहरुको बैठक बस्न नसकेको बताइएको छ।

बैठकबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रपति कार्यालय, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल छुट्टछुट्टै कार्यक्रमका लागि भनेर निस्किएकाले शीर्ष नेताको बैठक बस्न सकेन । बैठक भोलि दिउँसो ३ बजे पुनः बस्नेछ।

गठबन्धनमा आबद्ध दलहरुले गठन गरेको कार्यदलमा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक छन्।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन्।

नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट आनन्द शर्मालगायत नेताहरु सदस्य छन्।

गठबन्धन सिट बाँडफाँट