Logo
२ असोज २०८१, बुधबार

आदिकवि भानुभक्त क्याम्पस विद्यार्थीको आकर्षण केन्द्र बन्दै

अक्षरपाटी
२०७९ भदौ २५ , शनिबार ०२:०९ मा प्रकाशित

तनहुँ। तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ।

क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै आकर्षक शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो। यहाँ सहरी तथा ग्रामीण क्षेत्रबाट पनि पठनपाठनका लागि विद्यार्थी आउने गरेका छन्।

व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि यहाँ पठनपाठनका लागि आउने विद्यार्थी आउने गरेका छन्।

विसं २०४३ मा समुदायको सक्रियतामा क्याम्पस स्थापना भएको थियो। जुन बेला यही ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो।

आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए । क्याम्पस सञ्चालनको सुरुआतमा भवन नहुँदा लायन्स क्लबको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो।

क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११÷१२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाइ हुँदै आइरहेको छ। हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन्।

त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए।

कक्षा ११ देखि स्नातकोत्तरसम्मको अध्ययनमा दलित, छात्रा र विपन्नलाई सहुलियत दिँदै आइएको छ। त्यस्तै शहीद परिवार र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। ३० छात्रालाई छात्रावासमै बसेर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ।

क्याम्पसले नर्सिङ, इन्जिनियरिङको पठनपाठन सुरु गर्ने लक्ष्य लिएको छ। त्यसका लागि भवन र थप जनशक्ति आवश्यक पर्ने क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो। क्याम्पसको शैक्षिक विकासका लागि बीस वर्षे गुरुयोजना बनाइएको छ। क्याम्पसलाई मानक विश्वविद्यालयमा रुपान्तरण गर्ने लक्ष्य राखिएको छ।

क्याम्पसमा हाल ६४ प्राध्यापक र १६ कर्मचारी कार्यरत छन्। विद्यार्थीको शुल्क क्याम्पसको मुख्य आम्दानी रहेको र क्याम्पस आर्थिक रुपमा आत्मनिर्भर बन्न सफल भएको क्याम्पस प्रमुख हड्खलेले बताए।

क्याम्पसको कूल आम्दानीको ९० प्रतिशत तलबभत्तामा खर्च हुने गरेको छ। क्याम्पसले आर्थिक वर्ष २०७८÷७९ मा सात करोड ९१ लाख १७ हजार आम्दानी गरेको थियो। सरकारी तवरबाट कुनै सहयोग नरहेको क्याम्पसमा प्राध्यापकको तलबमा मात्रै ३५ लाख खर्च हुने गरेको छ।

चन्दा, दान र विद्यार्थीको शुल्कबाट प्राध्यापकलाई तलब खुवाउँदै आइएको छ । “गरिब तथा ग्रामीण भेगका विद्यार्थी अध्ययन गर्ने भएकाले निकै कम शुल्क मात्रै लिने गरेका छौँ”, हड्खलेले भने।

क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ। क्याम्पसले गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ।

आदिकवि भानुभक्त क्याम्पस शिक्षा