Logo
७ वैशाख २०८१, शुक्रबार

कपन आगलागी : मृतक तीनै जनाको परिचय खुल्यो

अक्षरपाटी
२०७९ असोज ६ , बिहीबार ०९:०९ मा प्रकाशित

काठमाडौँ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा छन्।

कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको थियो।

सो घटनामा काठमाडौँको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन्। दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौँ, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

आगो निभाउन बौद्ध रामहिटी, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौवटा दमकल तथा १० पानी ट्यांकरको प्रयोग गरिएको थियो। आगलागीबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।

कपन आगलागी