Logo
८ वैशाख २०८१, शनिबार

दार्चुलामा आँखा शिविर, तीन हजार चार सय लाभान्वित

अक्षरपाटी
२०७९ असोज ६ , बिहीबार ०५:०९ मा प्रकाशित

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरुको आयोजनामा सञ्चालन गरिएको आँखा शिविरमा तीन हजारभन्दा बढीले सेवा लिएका छन्।

तेज कोहली रुईत फाउण्डेशन र रोटरी क्लब अफ इल्भेरम नर्वेको सहयोगमा शिविर भदौ २५ देखि असोज ४ गतेसम्म दार्चुलाको गोकुलेश्वर, पस्ति र खलंगामा सञ्चालन गरिएको गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए।

शिविरहरुमा जम्मा ३ हजार ४३५ जनाले आँखा उपचार सेवा लिएका छन्। त्यसमध्ये ४ सय ४८ जनालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएका छ। ४ सय ४१ जना मोतिविन्दुका बिमारको शल्यक्रिया गरि लेन्स प्रत्यारोपणद्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको भट्टले बताए।

शिविरहरुमा ७ जनामा आँखाका अन्य रोगको शल्यक्रिया गरिनुको साथै एक हजार ३०४ जनालाई निःशुल्क चश्मा उपलब्ध गराइएको र १ हजार ६८३ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार गरिएको थियो । आँखा शिविरहरु शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि, मालिकार्जुन गाउँपालिकाको शंकरपुर मावि र महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि दार्चुलामा संचालन गरिएका थिए।

कोभिड संक्रमणको कारणले लामो समय सम्म उक्त क्षेत्रमा आँखा शिविर संचालन गर्न नसकिएकोले सेवा लिनेमध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए। गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. स्मध अधिकारीको नेतृत्वमा संचालित उक्त शिविरहरुमा, १५ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेको थियो।