Logo
२३ असोज २०८१, बुधबार

यात्रुहरुको व्यंग्य : राणाकालजस्तै काठमाडौं-दिल्ली भएर धनगढीको यात्रा गर्नुपर्ने दिन आए !

अक्षरपाटी
२०७९ असोज १० , सोमबार ११:०९ मा प्रकाशित

काठमाडौं। वर्षदिनमा जसोतसो चाढपर्वको बेला घर फर्कने र आफन्तसँग भलाकुसारी गर्ने नेपालीको मौलिकता हो।

जसरी पनि व्यवसाय, जागिर वा मजदूरीबाट बिदा मिलाएर घर फर्कने नेपालीको यही मनोविज्ञानलाई हवाइ सेवा प्रदायक कम्पनीहरुले भने मौकाका रुपमा लिने गरेका छन्।

अन्यबेला सस्तो फेयरका टिकट बिक्री गर्ने हवाइ कम्पनीहरुले चाडपर्वको मौकामा भने उपभोक्ताको ढाडै सेक्नेगरी हवाइ फेयर छोड्ने गरेका छन्।

महंगी पनि कतिसम्म भने यतिबेला काठमाडौंबाट धनगढीको हवाइ फेयर हेर्ने हो भने १७ हजार २५ रुपैयाँ तोकिएको छ । काठमाडौंबाट धनगढीको यात्रा अवधि १ घन्टा १५ मिनेट हो।

तर काठमाडौंबाट दिल्लीको अन्तर्राष्ट्रिय उडान १४ हजारमै गर्न पाइने गरी टिकट उपलब्ध छ। जबकी काठमाडौंबाट दिल्लीको उडान १ घन्टा ४५ मिनेटको हो।

यसमा हवाइ सेवा प्रदाय कम्पनीहरुले भने फुलफेयर मात्रै लिएको रेडिमेट जवाफ दिने गरेका छन्। धनगढीका लागि सेवा प्रदान गर्दै आएका बुद्ध एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सले सबैभन्दा महंगो फेयर  छोडेर चाडपर्व नजिकिएसँगै यात्रुलाई मर्कामा पारेको गुनासो सेवाग्राहीहरुको छ।

अन्यबेला त्यही उपभोक्ताका भरमा चलेका हवाइ कम्पनीहरुले चाडपर्वको चापमा कसिकसाउ भाडा लिएर अलिकति पनि सामाजिक उत्तरदायित्व बहन नगरेको गुनासो धनगढीका लागि टिकट खोजिरहेका मीनबहादुर धामीले गरे।

आन्तरिक उडानमध्ये सबैभन्दा लामो दूरीमा रहेको काठमाडौं–धनगढीको हवाइ भाडा ६ हजार ८ सय र ८ हजार ३९५ कायम गरिएको थियो तर दसैंतिहार नजिकिएसँगै भाडा दर दोब्बरजस्तै बनाइएको छ।

हवाइ भाडा एक्कासी दोब्बर बनाइँदा सामान्य समयमा पनि सबैभन्दा बढी भाडा तिर्दै आएका सुदूरपश्चिमेली यात्रुहरु मारमा परेका छन्।

चाडपर्वका बेला मौका छोपेर सुदूरपश्चिमको हवाइ भाडा मनोमानी बढाउँदा पनि नियमनमा चासो नदेखाएको भन्दै सरकार र हवाइ सेवा प्रदायकको आलोचना हुन थालेको छ।

चाडपर्वको मुखमा भाडा अचाक्ली महंगो बनाएकोमा तीर्थ भण्डारीले आक्रोस पोख्दै सामाजिक सञ्जालमा हवाइ सेवा प्रदायक र सरकारको तीव्र आलोचना गरेका छन्।

कतिपयले ‘काठमाडौंबाट दिल्ली भएर राणाकालीन समयजस्तै सुदूरपश्चिमको यात्रा गर्नुपर्ने दिन आए’ भनेर व्यंग्य गरेका छन्। काठमाडौंबाट धनगढी देशकै सबैभन्दा लामो आन्तरिक हवाइ रुट भए पनि सरकारले भने यो क्षेत्रमा सेवा प्रदान गरेको छैन। केही समय नेपाल एयरलाइन्सको सेवा सुरु गरे पनि अहिले बन्द छ।

पत्रकार यम बमले पनि काठमाडाैं-धनगढी रुटमा बढाइएकाे हवाइ भाडलाई लिएर ब्यंग्य गरेका छन् ।

यस रुटमा चल्ने निजी कम्पनीहरुले भने यहाँका यात्रुको सहजताभन्दा पनि आफूले यात्रु नपाउँदा सस्तो र यात्रुको चाप बढ्दा डाडै सेक्ने रेट तोक्ने गरेका छन्।

अर्का यात्रु धर्मराज ढुंगानले भने,’सडकमार्गबाट जान पाएको पाँच दिन बिदा बाटैमा सकिन्छ, हवाई मार्गबाट परिवारका तीन जना जाने हो भने जान मात्रै आधा लाखभन्दा बढी चाहिन्छ, दसैँ केले मनाउनु फर्कनु कसरी?

महंगी हवाइ यात्रा