Logo
१५ वैशाख २०८१, शनिबार

डेंगु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु, संक्रमित २५ हजार नाघे

अक्षरपाटी
२०७९ असोज ११ , मंगलबार ०२:०९ मा प्रकाशित

नेपालमा साउनयता डेंगु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सोमबार थप एक हजार ५१ जनामा संक्रमण देखिएको छ । हालसम्म २५ हजार पाँच सय ४३ जनामा संक्रमण पुष्टि भएको छ, जुन नेपालमा हालसम्मकै धेरै हो ।

डेंगु संक्रमण पुष्टि भएका झन्डै पाँच गुणाभन्दा बढी संक्रमित समुदायस्तरमा रहेको अनुमान गरिएको महाशाखाले जनाएको छ । गम्भीर लक्षणसहितका बिरामी मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेको र अधिकांशले घरमै औषधि सेवन गरेर बसेको पाइएको चिकित्सकहरू बताउँछन् ।

हालसम्म सबैभन्दा धेरै काठमाडौंमा आठ हजार आठ सय ९६, ललितपुरमा ६ हजार ३५ र मकवानपुरमा दुई हजार दुुई सय ७५ जनामा संक्रमण देखिएको छ । दाङमा एक हजार दुई सय ७८, भक्तपुरमा एक हजार ५८, रुपन्देहीमा सात सय २५, चितवनमा ६ सय एक र धादिङमा चार सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । महाशाखाले हालसम्म ७५ जिल्लामा डेंगु फैलिएको जनाएको छ ।

लामखुट्टे नियन्त्रणमा सरकारले समयमै चासो नदिँदा डेंगु संक्रमणले भयावह रूप लिएको चिकित्सकहरूले बताउँदै आएका छन् ।