Logo
८ वैशाख २०८१, शनिबार

नेतालाई चुनावी चटारो, किसानलाई मलकै चिन्ता

अक्षरपाटी
२०७९ कात्तिक ४ , शुक्रबार ०९:१० मा प्रकाशित

काभ्रेपलाञ्चोक। खेती गर्ने बेला सिँचाइ, मल र बिउबिजनको अभाव खेप्नु नेपाली किसानको स्थायी समस्याजस्तै बनेको छ।

काभ्रेका किसानले आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल नपाउँदा हैरानी खेपिरहेका छन्। आम निर्वाचनको तयारीमा नेताहरु गाउँगाउँ पसे पनि किसानका लागि चाहिने मल भने कहिल्यै किसानसम्म पुग्न सकेको छैन।

खेतीपातीका बेला सहजरूपमा मल आपूर्ति गर्न पाँचखालका किसानले काभ्रेपलाञ्चोक प्रशासनसँग माग गरेका छन्। उनीहरुले मल आपूर्तिका लागि संघर्ष समिति नै बनाएर पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका हुन्।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र नगर उपप्रमुख सूर्यमाया दनुवारलाई सयौँ सङ्ख्यामा उपस्थित किसानले ध्यानाकर्षणपत्र बुझाउँदै एक वर्षदेखि रासायनिक मल अभाव झेल्दै आएकाले हालको आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा पनि मल सहज आपूर्ति नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन्।

उनीहरुले बिहीबार पाँचखाल बजार र सदरमुकाम धुलिखेलमा मल माग गर्दै ¥यालीको आयोजना गरी ध्यानाकर्षणपत्र बुझाएका थिए।

प्रजिअ पाण्डेले किसानको ध्यानाकर्षणपत्र बुझ्दै किसानको समस्याप्रति आफू निकै गम्भीर भएको र समस्या समाधानार्थ केन्द्रीय निकायमा सहजीकरण गर्ने बताए।

तिहारअघि रासायनिक मल सहजरूपमा आपूर्ति गर्न संघर्ष समितिका संयोजक ज्ञानबहादुर थापाले माग गरे।

किसान रासायनिक मल
यो पनि हेर्नुहोस् : किसानको पनि होइन र, यो देश…!