Logo
६ वैशाख २०८१, बिहीबार

धनगढी नगरले पठायो १२२ जना जेष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा

अक्षरपाटी
२०७९ कात्तिक ४ , शुक्रबार ११:१० मा प्रकाशित

धनगढी। जीवनभर घरधन्दामै सिमित जेष्ठ नागरिकलाई धनगढी उपमहानगरपालिकाले तीर्थयात्रामा पठाएको छ।

धनगढी उपमहानगरपालिकाले नगरका एक सय २२ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ पठाएको हो। नगर प्रमुख गोपाल हमाललगायत जनप्रतिनिधिले टीका र खादा लगाएर बिहीबार जेष्ठ नागरिकलाई तीर्थयात्राका लागि कार्यालय प्रांगणबाट बिदाइ गरेका हु्न। उनीहरू एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन्।

ज्येष्ठ नागरिकलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास गर्नका लागि उनीहरुलाई तीर्थयात्रामा पठाइएको नगर प्रमुख हमालले बताए। ‘स्थानीय तहले ज्येष्ठ नागरिकलाई गरेको यो एकप्रकारको सम्मान हो,’ मेयर हमालले भने, ‘उहाँहरूलाई पनि आफ्नो जीवनको उत्तरार्द्धमा स्थानीय सरकारले हेर्‍यो भन्ने हुन्छ। यसले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेपा पुग्नेर्छ।’

मेयर हमालले उपमहानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश गरेका थिए। आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।

उपमहानगरले चारवटा बस भाडामा लिएर वृद्धवृद्धालाई धार्मिक यात्रामा पठाएको हो। बुढेसकालमा तीर्थ यात्रामा निस्कन पाउँदा निकै खुसी लागेको ७६ वर्षीया गंगादेवी कठायतले बताइन्। यात्राको व्यवस्थापनका लागि उपमहानगरपालिकाका केही कर्मचारीसँगै गएका छन्।

तीर्थयात्रा धनगढी उपमहानगर