Logo
१२ वैशाख २०८१, बुधबार

कञ्चनपुरमा विभिन्न दलका उम्मेदवार मतदाता रिझाउन टोलटोलमा

अक्षरपाटी
२०७९ कात्तिक ६ , आईतबार ११:१० मा प्रकाशित

कञ्चनपुर। केन्द्रमा बसेर राजनीति गर्दै आएका ठूला दलका विभिन्न नेताहरु पनि यतिबेला गाउँगाउँका वस्ती र झुपडीमा पुगेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावले गाउँ, सहर र बजारमा चुनावी माहोल तातेको छ। उम्मेदवारी दर्ता भएपछि मतदाता रिझाउन नेताहरू बस्तीमा पस्न थालेका छन्।

चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवार मतदातासँग भेटघाट गरेर आफ्ना एजेन्डा सुनाइरहेका छन्। उद्यपि उनीहरुका हातमा पार्टीका लिखित घोषणापत्र भने छैनन्।

नेपाली कांग्रेस कञ्चनपुरले टोलटोलमा कार्यकर्ताहरूसँग भेटघाट गरेर सुझाव र समस्या संकलन गर्ने काम गरिरहेको सचिव भीम भट्टले बताए।

‘तीनवटै क्षेत्रका पार्टीका भ्रातृ सङ्गठन तथा विभिन्न समितिसँग छलफल सम्पन्न गरेका छौँ, अहिले टोलटोलमा गएर कार्यकर्ता भेटघाट तथा बस्तीका समस्याहरू संकलन गर्ने काम गरिरहेका छौँ’, उनले भने।

वाम लोकतान्त्रिक गठबन्धनले आचारसंहितालाई दृष्टिगत गरेर संयुक्तरूपमा चुनाव केन्द्रित अभियानलाई तीव्रताका अगाडि बढाएको उनको भनाइ छ।

नेकपा एमाले कञ्चनपुरले चुनावी कार्यक्रमलाई तीव्र गति दिएको सचिव पल्लवराज भट्टले बताए।

‘पालिकास्तरीय भेला सकेर वडास्तरीय भेला आयोजना गरिरहेका छौँ, वडामा सम्पर्क कार्यालय पनि स्थापना भइरहेका छन्’, उनले भने, ‘चुनावको तयारी तीव्ररूपमा अगाडि बढाएका छौँ, सँगै घरदैलो अभियानमा मतदाता भेटघाट गरेर आफ्ना एजेन्डा सुनाउँदैछौँ।’

कञ्चनपुरमा नेपाली कांग्रेसले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको छ। सत्ता साझेदार एकीकृत समाजवादी भने एक्लै चुनावमा छ। एमालेले कञ्चनपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ।

कञ्चनपुरमा प्रतिनिधिसभाका तीन सिटका लागि ३२ र प्रदेशसभाका छ सिटका लागि ५० गरेर कूल ८२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

 

कञ्चनपुर निर्वाचन