Logo
१४ वैशाख २०८१, शुक्रबार

‘गठबन्धनका कारण संविधान र सङ्घीयताको रक्षा’

अक्षरपाटी
२०७९ कात्तिक ६ , आईतबार ११:१० मा प्रकाशित

सुर्खेत। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको बताए।

पाँचदलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर सुर्खेतमा आइपुगेका प्रधानमन्त्री देउवाले गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताए। परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएकाले गठबन्धन लामो समयसम्म रहने उनले दाबी गरे।

प्रधानमन्त्री देउवाले भने, “संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको हो। यसको जीतका लागि सबै मिल्नुको विकल्प छैन। गठबन्धनविरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दछु।”

कर्णाली आर्थिक समृद्धिको प्रमुख आधार भएको बताउनुभएका प्रधानमन्त्री देउवाले यहाँको विकास र समृद्धिका लागि सरकार लागिरहेको जनाए। “गठबन्धन दललाई यो चुनावमा जिताउनुस्, पाँच वर्षभित्रै हामी परिणाम देखाउँछौँ”, उनले भने।

सो संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा कर्णाली तथा सुदूरपश्चिमले खेलेको भूमिकालाई गहिरो अनुभूति गरेको र त्यसको न्याय गर्न नेतृत्व सचेत रहेको बताए। कर्णालीबाट नै प्रतिगमनविरुद्धको विद्रोह भएको उनको भनाइ थियो।

“प्रतिगमनविरुद्ध यो गठबन्धन जन्मेको हो । यसलाई कसैले पनि हल्का रुपले लिनु हुँदैन”, अध्यक्ष दाहालले भने, “यसले संविधान, सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशिताको रक्षा गरेको छ। त्यसैले संविधान मिच्नेका विरुद्धको यो गठबन्धन हो।”

उत्तेजित नभई संयमताका साथ चुनावी सफलता हात पार्नेगरी गठबन्धनका नेता तथा कार्यकर्तालाई अभियानमा कटिबद्धताका साथ लाग्नअनुरोध गर्दै उनले आर्थिक क्रान्तिसहित मुलुकको समृद्धिका लागि पनि गठबन्धनको विजय अपरिहार्य रहेको र यसका निम्ति गठबन्धनका नेताहरुबीचको विचार र भावनाको गहिरो एकताको सन्देश लिएर देशभरि हिँडेको बताए।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले समाजवादको यात्रालाई अगाडि बढाउन गठबन्धन जरुरी रहेको जनाए। जनतालाई गरिबी, अशिक्षा र भोकमरीबाट मुक्त पार्न गठबन्धनको जीतले मात्र सुनिश्चित गर्छ”, अध्यक्ष नेपालले भने, “तसर्थ देश र समाज परिवर्तन, जनताको जीवनस्तर उकास्न, देशको स्वाभिमान माथि उठाउन गठबन्धन गरिएको हो।”

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक कदमविरुद्ध पाँचदलीय गठबन्धन बनेको बताए।

“अहिलेको हाम्रो अभियान भनेकै गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधानको रक्षा गर्ने हो”, उनले भने, “तसर्थ, अब यो दल वा त्यो दल नभन्नुहोला। गठबन्धनका सबै उम्मेदवारहरुलाई आफ्नै उम्मेदवार भनेर भोट हाल्न अनुरोध गर्दछु।” आजै सत्ता गठबन्धन दलहरुले सुदूरपश्चिममा पनि चुनावी प्रशिक्षण कार्यक्रम गरेका थिए।

गठबन्धन