Logo
३१ भदौ २०८२, मंगलबार

छठका लागि दुलही झैँ सिङ्गारिँदै धनगढीको मोहना घाट

अक्षरपाटी
२०७९ कात्तिक १२ , शनिबार ११:१० मा प्रकाशित

धनगढी। सूर्य भगवान्को पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिङ्गारिएको छ ।

आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ ।

पूजास्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन्। घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजाकक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए।

निर्माण गरिएका पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न ठूलो पण्डाल पनि निर्माण गरिएको छ।

मोहना घाट पूजास्थलमा भक्तजन तथा दर्शनार्थीहरुको प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । सूर्य भगवान्को प्रतिमालगायत विभिन्न देवीदेवताको प्रतिमाको निर्माण भइरहेको छ।

देवीदेवताका प्रतिमा निर्माणका लागि नेपालको पूर्वी भेगबाट कालिगढ ल्याई प्रतिमा निर्माण तथा सिङ्गारपटार गरिएको छ।

मोहना घाटमा सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न झाँकीको प्रस्तुति रहने आयोजक श्री छठ पर्व सेवा समितिले जनाएको छ। भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमहरुको प्रस्तुतिका लागि छिमेकी मुलुक भारतबाट कलाकारसमेत निम्त्याइएको छ । छठ पूजाका लागि ११ लाख लाग्ने अनुमान गरिएको छ।

छठ धनगढी मोहना नदी