Logo
१४ वैशाख २०८१, शुक्रबार

काठमाडौंको जमिन कृषि र गैरकृषि गरी दुई क्षेत्रमा वर्गीकरण हुने

अक्षरपाटी
२०७९ कात्तिक २ , बुधबार १०:१० मा प्रकाशित

काठमाडौं। काठमाडौँ महानगरपालिकाले भूउपयोग कार्यान्वयन उपसमिति गठन गरेर महानगरभित्रको जमिन कृषि र गैरकृषि गरी दुई क्षेत्रमा छुट्याउने भएको छ।

आज कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको भूउपयोग कार्यान्वयन समितिको संयुक्त बैठकले उपसमिति गठन गरेको हो।

गठित उपसमितिमा वडाध्यक्ष संयोजक रहने र वडासदस्य सदस्य रहनेछन्। बैठकले उपसमितिलाई आफ्नो वडामा भएको जमिनलाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्ने जिम्मेवारी दिइएको छ।

भूउपयोग ऐन, २०७६ को व्यवस्थाअनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनेछन्।

कामपाको यसअघि भएको आठौँ कार्यपालिका बैठकले नानीबाबु दाहाल, चन्द्रप्रसाद घिमिरे, बिना बुद्धाचार्य र रजनी दाहाललाई कार्यान्वयन समितिको सदस्यसहित समिति गठन गरिसकेको छ।

कार्यक्रममा प्रमुख साहले उपसमितिमार्फत तत्कालका लागि जमिनलाई कृषि र गैरकृषि गरी दुई क्षेत्र छुट्याउन आग्रह गरे।

कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कार्यान्वयन उपसमितिबाट आएको सिफारिसबारेमा कार्यान्वयन समितिमा छलफल गरिने र कार्यान्वयन समितिबाट पेश भएको अवस्थाका विषयमा स्थानीय भूउपयोग परिषद्मा छलफल गरेर निर्णय हुने बताए।

ऐनमा सांस्कृतिक तथा पुरातात्विक महत्व क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, व्यावसायिक र आवासीय क्षेत्र गरी जमिनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्ने प्रबन्ध पनि गरेको छ।

काठमाडाैं महानगर