Logo
१२ वैशाख २०८१, बुधबार

कांग्रेस कैलालीका क्षेत्रीय प्रतिनिधि रेग्मीद्वारा सदस्यता त्यागेको घोषणा

अक्षरपाटी
२०७९ कात्तिक २० , आईतबार ११:११ मा प्रकाशित

धनगढी। नेपाली कांग्रेस कैलाली क्षेत्रीय प्रतिनिधि रहेका हरि रेग्मीले पार्टीको सदस्यता त्यागेको घोषणा गरेका छन्।

नेपाली काँग्रेस कैलालीले उनलाई स्पाष्टिकरण सोधेपछि उनले निराधार आरोप लगाएर स्पाष्टिकरण सोधिएको जनाउँदै पार्टीको सदस्यता त्यागेको जनाएका छन्।

नेपाली कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टद्वारा हस्ताक्षतिर स्पष्टिकरण पत्रमा उनले कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेस तथा सत्तारुढ लोकतान्त्रिक बाम गठबन्धन दलका उम्मेदवारबिरुद्ध अभिब्यक्ति दिएको, स्वतन्त्र उम्मेदवारको प्रचार गरेको र सामाजिक सञ्जालमा त्यही रुपमा प्रस्तुत भएको प्रमाणसहित उजुरी प्राप्त भएकाले २४ घन्टाभित्र लिखित स्पष्टिकरण दिन भनिएको थियो।

क्षेत्रीय प्रतिनिधि रहेका युवा नेता रेग्मीले २४ घन्टे उर्दीपत्र समयमै प्राप्त भएको उल्लेख गर्दै पाँच बुँदे स्पष्टिकरण लेखेका हुन्। उनले स्पष्टिकरणमा आफूले कहिले कुनचाहीँ स्वतन्त्र उम्मेदवारको प्रचार गरेको ? समाजिक सञ्जालमा के सामग्री पोस्ट गरेँ ? त्यसको प्रमाण सार्वजनिक गरिदिन आग्रह गरेका छन्।

त्यति मात्र होइन उनले कैलालीका जिल्ला सभापतिले नै स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको प्रचार सामग्री समाजिक सञ्जालमा सेयर गरेको कुरालाई आम कार्यकर्ताले कसरी बुझ्ने भन्दै प्रश्न गरेका छन् ।

रेग्मीले नेपाली काँग्रेसका केन्द्रीय सदस्यलगायत नेता तथा कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापतिले क्षेत्र नं ५  ‘ख’ का उम्मेदवारको मात्रै सामाजिक सञ्जालमा प्रचार गर्नु के उचित हो ? भन्दै प्रश्न उठाएका छन्। यसबारे उनले आम कारेयकर्तालाई पनि स्पष्ट पारिदिन आग्रह गरेका छन्।

उनले आफूलाई सोधिएको स्पष्टिकरण ‘तपाईँहरुका प्रभुको ठाडो आदेश, आसेपासेहरुको उक्साहट र केबल व्यक्तिगत कुन्ठा बाहेक केही होइन’ भन्दै आक्रोस पोखेका छन्।

उनले आजसम्म कुनै कसैको प्रचारप्रसारमा सक्रिय नभएको भए पनि आफूलाई सोधिएको पूर्वाग्रही स्पष्टिकरणले अपवित्र तथा अलोकतान्त्रिक गठबन्धनका बिरुद्ध र स्वतन्त्र उम्मेदवारका पक्षमा उभिन हौसला प्राप्त भएको पनि लेखेका छन्।

उनले स्पष्टिकरण पत्रमार्फत आफूले २०४५ सालदेखि नेबिसंघको सदस्य हुँदै थालको यात्रा २०७९ कार्तिक २० गतेका दिन नेकाको सदस्यता त्याग गरि स्वतन्त्र नागरिक भएको कुरा जानकारी समेत गराएका छन्।

रेग्मी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय युवा नेताका साथै अखण्ड सुदूपश्चिम आन्दोलनका अगुवामध्येका एक हुन्।

कांग्रेस कार्यकर्ताले भने चुनावको मुखमा पार्टीका नेता, कार्यकर्तालाई स्पष्टिकरण साेध्न, चिढ्याउने कामले पार्टीलाई नै घाटा हुने रुपमा लिएका छन्।

नेपाली कांग्रेस हरि रेग्मी