Logo
२४ वैशाख २०८१, सोमबार

देउवालाई एमालेको मौन समर्थन छ : नैनसिंह महर

अक्षरपाटी
२०७९ कात्तिक २२ , मंगलबार १०:११ मा प्रकाशित

डडेल्धुरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पछिल्लो समय गृह जिल्ला डडेल्धुराको चुनावी प्रचारमा छन्।

सुदूरपश्चिमका विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधन गरिरहेका महर एक सातायता डडेल्धुराका विभिन्न सभामा सम्बोधन गरिरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँगै उनले पनि विभिन्न सभामा भाग लिए।

प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुरामा कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकाले नेता महर गठबन्धनको पक्षमा माहौल सिर्जना गर्न गृह जिल्लामा खटिएका हुन्।

मंगलबार बिहान डडेलधुरामा सञ्चारकर्मीसँगको कुराकानीमा महरले अहिले कांग्रेसको प्रतिस्पर्धी नै कोही नरहेको दाबी गरे।

‘प्रतिनिधिसभा निर्वाचनमा देउवाविरुद्ध धेरैले उम्मेदवारी दिएका होलान्। तर ठूलो दल नेकपा एमालेले नै उम्मेदवारी फिर्ता गरेर प्रधानमन्त्रीज्यूलाई मौन समर्थनमा छ,’ उनले भने, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि देउवालाई समर्थन गरेर भोट मागिरहेका छन्। अन्यलाई न उहाँ (देउवा)ले न प्रतिस्पर्धी ठान्नुभएको छ। न त नेपाली कांग्रेसले नै ठानेको छ।’

केन्द्रीय सदस्य महरले डडेल्धुराको निर्वाचन गोलकिपर बीनाको फुटबल जस्तै भएको बताए।

‘गोलकिपर नै छैन भने जाली च्यातिने सम्भावना बढी हुन्छ। डडेल्धुराको निर्वाचन पनि नेपाली कांग्रेसका लागि प्रतिस्पर्धी बीनाको भइरहेको छ,’ उनले भने।

संविधानको कार्यान्वयन र संविधानको रक्षाका लागि देउवा जित नै अहिलेको आवश्यकता भएको महरले बताए।

‘कांग्रेसले मुलुक र जनताप्रति कहिले घात गर्दैन। २०७४ सालमा कम्युनिस्टहरूलाई दुई तिहाई मत दिएर ओलीको नेतृत्वमा दुई तिहाइको सरकार बनेकै हो। विकासको साँटो पटक(पटक संसदमाथि प्रहार गर्नुभयो’, उनले भने।

ओलीका कारण अन्यौलतातर्फ धकेलिएको मुलुकलाई कांग्रेसले नेतृत्व गएर एउटा गतिमा ल्याएको उनको जिकिर थियो।

यी सबै कुराको मूल्यांङ्कन गर्दै अग्रगामी वाम लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न उनले जनतालाई आग्रह गरेका छन्।

मंसिर ४ को निर्वाचनका लागि एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा देउवासँगै कांग्रेस बीपीका कर्णबहादुर मल्ल, राप्रपाका गोविन्द खडायत, जनता समाजवादीका श्याम सिनाल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाही, कर्णसिंह रावल ‘मम्याल बाजे’ र लालबहादुर कठायत उमेदवार छन्।

नैनसिंह महर