Logo
८ वैशाख २०८१, शनिबार

कञ्चनपुर–२ : उम्मेदवारको चुनावी वाचा भूमिहीनलाई छिट्टै लालपूर्जा

अक्षरपाटी
२०७९ कात्तिक २५ , शुक्रबार १२:११ मा प्रकाशित

कञ्चनपुर। यसभन्दा अघिका निर्वाचनमा पनि कञ्चनपुर क्षेत्र नम्बर २ मा भूमिहीनलाई स्थायी बसोबास, लालपूर्जा र व्यवस्थित बस्ती प्रमुख मुद्दा बन्दै आएको हो। आसन्न निर्वाचनमा पनि भूमिहीनलाई लालपूर्जा प्रमुख चुनावी चारो बनिरहेको छ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारले भूमिहीन नागरिकलाई छिट्टै जग्गाधनी पूर्जा दिने आश्वासन दिएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले सुकुम्वासी र जग्गाधनी पूर्जा नभएकालाई छिट्टै लालपूर्जा उपलब्ध गराउने दाबी गरे।

जनतालाई लालपूर्जा उपलब्ध गराउने आफ्नो पहिलो प्राथमिकतामा रहेको उनको भनाइ थियो।

‘यहाँ जग्गाधनी पूर्जा नपाएका थुप्रै नागरिक छन्। यो मेरो मुख्य मुद्दा हो’, उनले भने, ‘म निर्वाचित भएको एक डेढ वर्षभित्र जनताका हातमा लालपूर्जा उपलब्ध गराउने गरी काम गर्नेछु।’

उनले चुरेक्षेत्रमा धार्मिक पर्यटकीय सडक निर्माण, आरक्षण पीडित जनताको बसोबास र मुआब्जाको व्यवस्थापन, बाढी नियन्त्रणका लागि गुरुयोजना बनाएर काम समेत अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले देशमा स्थायी सरकार र मुलुकको समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको दाबी गरे। उनले गठबन्धन कसैलाई हराउनका लागि भन्दा पनि स्थायित्वका लागि बनेको बताए।

त्यसैगरी नेकपा एमालेका तर्फबाट कञ्चनपुर क्षेत्र २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नरबहादुर धामीले पनि जग्गाधनी पूर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

‘यहाँका धेरैजसो जग्गा ऐलानी छन् तर जनताले कब्जा गरेर बसेका होइनन्। तत्कालीन राष्ट्र प्रमुखको निर्देशनमा बर्माबाट आएर यहाँ बसेका हुन्’, उनले भने, ‘जग्गाधनी पूर्जा दिने काम हामीले अगाडि बढाएका छौँ। त्यो अहिलेसम्म पूरा हुन सकेको छैन। म निर्वाचित भए यसलाई अगाडि बढाउँछु।’

उनले नेकपा एमालेको सरकार भएको समयमा सुकुम्वासी व्यवस्थापनका लागि सट्टा भर्ना दिने र जग्गा दिन नसक्ने भए पैसा उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको बताए।

‘कार्यदलले प्रति परिवार १० कठ्ठा जग्गा वा कम्तीमा ६० लाखप्रति परिवार उपलब्ध गराउने भनेर प्रतिवेदन मन्त्रालयमा बुझाएको छ’, उनले भने, ‘यसको कार्यान्वयनका लागि पनि मेरो उम्मेदवारी हो।’

उनले दैजी क्षेला औद्योगिक क्षे स्थापनाका लागि आफू लागेको बताए। आफू निर्वाचित भए औद्योगिक क्षेत्र निर्माणमा केन्द्रित हुने उनको भनाइ थियो।

नौ अर्ब लगानीमा निर्माण हुने यस औद्योगिक क्षेत्रमा पाँच सयभन्दा बढी उद्योग स्थापना हुनेछन् भने २२ हजारले रोजगारी पाउने छन्।

एनपी साउद कञ्चनपुर नरबहादुर धामी