कैलाली। यतिबेला देशभर चुनावी चर्चा चुलिएको छ। पुराना राजनीतिक दलहरुको टिकट वितरणदेखि निर्वाचित भएर गएपछि फर्किएर नहेर्ने जनप्रतिनिधिको कार्यशैलीप्रति मतदाता त्यति खुशी देखिँदैनन्।
जसको विकल्पका रुपमा मतदाता नयाँ अनुहारको खोलीमा छन्। जसका लागि देशभर नयाँ अनुहार पनि तयार भएका छन्।
दलहरुले जनताको पीरमर्का बुझ्ने भन्दा पनि आफू अनुकूलका उम्मेदवार पठाउने प्रवृतिबाट पनि मतदाता रुष्ट बनेका छन्। जसका कारण मतदाताले विकल्प खोजिरहेका छन्।
दलहरुमाथि जनताको विश्वास कमजोर हुँदै गए पनि कैलाली क्षेत्र नम्बर ४ मा भने सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बीरबहादुर बलायरलाई एकपटक हेर्ने मुडमा यहाँका मतदाता देखिन्छन्।
पुरानै दलबाट भए टिकट बाँडफाँटको भागबन्डा मिलाउने क्रममा डोटीबाट कैलाली सारिएका बीरबहादुर बलायरलाई यसपटक ‘एकपटक हेर्ने कि’ भन्ने मुडमा यहाँका मतदाता देखिन्छन्।
यसअघि निर्वाचित गरेर पठाएकाहरु बढीजसो फर्केरै नआएको, आएकाहरुले पनि गरेको बाचा पुरा नगरेको, कतिपय स्थानमा अझै सडक, बिजुली, टेलिफोन, स्वास्थ्य र शिक्षाको अवस्था दयनीय भएकाले नयाँ अनुहारलाई जिताउँदा आफ्नो राजनीति भविश्यका लागि पनि केही गर्लान कि भन्ने मुडमा यस क्षेत्रका जनता देखिन्छन्।
अक्षरपाटी टिमले कैलाली ४ का चिया पसले, किसान, वौद्धिक वर्ग, शिक्षक, कर्मचारी, व्यवसायी गरी ६९० जनाको मत बुझ्ने प्रयास गरेको थियो।
विभिन्न क्षेत्रका प्रतिनिधि मनस्थितिलाई हेर्ने हो भने नेपाली कांग्रेसका बलायरको पक्षमा २१८ जना देखिएका छन् भने नेकपा एमालेका लेखराज भट्टको पक्षमा १९८ जनाले मात्रै मतदान गर्ने बताए।
८१ जना मतदाता नागरिक उन्मुक्ति पार्टीको पक्षमा देखिएका छन् भने ९३ जनाले आफ्नो मत खुलाउन चाहेनन्।
३० मतदाताले भने कसैलाई पनि मत दिने मनस्थिति नबनेको बताए । सर्वेक्षणका क्रममा ७० जना मतदाताले भने आफ्नो मत अन्य बिभिन्न दलका उम्मेदवारलाई दिने उल्लेख गरे।
सर्वेक्षणको नजितालाई हेर्दा कैलाली क्षेत्र नम्बर ४ मा यसपटक सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपि बीरबहादुर बलायर यो क्षेत्रका लागि नयाँ अनुहार र लेखराज भट्ट टेस्टेड भएकाले यो क्षेत्रका मतदाता बलायरलाई ‘एकपटक परीक्षण गरौँ’ भन्ने मनस्थितिमा देखिन्छन्।
कैलाली क्षेत्र नम्बर ४ मा डोटीबाटै बसाइ सरेका जनताको बाहुल्यता भएकाले दुबै प्रमुख दलका उम्मेदवार पनि डोटीमुलकै भएकाले मत विभाजन हुने पक्का छ। सर्वेक्षणअनुसार खुल्न नचाहेका र अन्य दललाई मतदान गर्ने मनस्थितिमा भएका जनताको फकाउन सक्ने उम्मेदवारले नै बाजी मार्ने पक्का छ।
बीरबहादुर बलायर लेखराज भट्ट